अपडेट 
२०८१ बैशाख २१, शुक्रबार ०७:१७

जनता आवास कार्यक्रम अन्तर्गत करिब ८७ वटा घरको रकम झिकेर ठेकेदार र तत्कालीन करारका कर्मचारी बेपत्ता भएपछि पीडित परिवार बिच्चलीमा परेका छन् ।

आर्थिक वर्ष ०७८/०७९ अन्तर्गत करिब ९३१ घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनु पर्नेमा हालका दिनसम्म ७३५ घर निर्माण भएको छ भने १९६ वटा घर अधुरै रहेकाले हामीहरूको परिवार, घरबारविहीन भएको जितपुरसिमरा उप–महानगरपालिका–९ छातापिपरा निवासी राजदेव पासवानले बताए ।

सरकारबाट हामी गरिबहरूको घर निर्माण हुने भएपछि त्यसबेला खुसी भएका हाम्रा परिवार अहिले बेघर भएको परवानीपुर गाउँपालिका–४ चैनपुर टोलका चनरकली रामले दुःखेसो पोखे । “केही दिन अगाडि दुर्घटनामा परेर ठेकेदारसहितका व्यक्तिहरू नै मरेको हामीहरूलाई खबर आएपछि हामी निराश भएका थियौँ“, उनले भने, “तर, कुरा अर्कै रहेछ ।“ पैसा झिकेर उनीहरू बेपत्ता भएको सुनेपछि हामीहरू सम्बन्धित निकायमा गुनासो गर्न आउने गरेको सोही ठाउँका अर्का पीडित पानवा देवी रामले बताए ।

तीन किस्तामा तीन लाख ३६ हजारको बजेटमा एउटा घर निर्माण गरी दलित, विपन्न र मुस्लिम परिवारलाई दिने कार्यक्रम अहिले कागजमै थन्किएको छ । जनता आवास निर्माण समिति परवानीपुर–४ र जनता आवास निर्माण समिति जितपुरसिमरा–५ मा मात्र यो समस्या देखिएको पूर्वाधार विकास कार्यालय कलैया बाराका इन्जिनियर रविन प्रसाद जैसवालले बताए ।

९ जनाको २ किस्ता बराबरको पैसा गएर खर्च पनि भई सकेको छ, तर घरै निर्माण भएको देखिँदैन । “फेरि तेस्रो किस्ताको रकम पठाउन दबाब आई रहेको छ, कसरी पैसा जान्छ“, इन्जिनियर जैसवालले भने, “पर्सा, वीरगञ्जका ठेकेदार वीरबहादुर पटेल र सोही ठाउँका तत्कालीन करारका कर्मचारी सब– इन्जिनियर राजकुमार प्रसाद यादवले आफ्नो पत्नीको नाममा दर्ता रहेको सुमन कन्स्ट्रक्सन प्रा.लि.को नामबाट जनता आवासको रकम करिब ९० लाख रुपियाँ झिकेर बेपत्ता भएको छ ।“ जितपुरसिमराको खातामा ३ जनाको बढी पैसा गएको छ । बाँकी फाइलको विवरण हालका दिनसम्म कलैयामा आएको छैन । आए पनि आधा अधुरै आएको पूर्वाधार विकास कार्यालय कलैया बाराका निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले जानकारी दिए । परवानीपुरमा ६३ र जितपुरसिमरामा ४५ घर निर्माणको काम पुरा अधुरै रहेको छ ।

प्रदेश सभा सदस्य जितेन्द्र सोनलको पिए दिनेश रामको घर निर्माण गर्न गएको २ किस्ताको रकम झिकिएको छ, तर, घरपट्टिलाई थाहै छैन । जबकि जगको निर्माण कार्य पुरा भएपछि अर्को किस्ता जानु पर्ने प्रावधान रहेको प्रमुख साहले बताए । उता दिनेश रामको गाउँमा २ तल्ले पक्की घर रहेको स्थानीयहरू बताउँछन् ।

तत्कालीन निमित्त कार्यालय प्रमुख रुद्रनारायण दासले डकुमेन्ट प्रष्ट नराखेको कारण, सिस्टम भद्रगोल भएको छ, कागजपत्र सही नराख्नु, झोलामा कार्यालय सञ्चालन गरेकाले यस्तो समस्या आएको उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News