अपडेट 
२०८१ बैशाख २१, शुक्रबार ०७:४६

अबको एक हप्ता देशका धेरै ठाउँहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नभए पनि अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले साप्ताहिक कृषि मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै हप्ताको मध्य तथा अन्त्यतिर केही ठाउँमा पानी पर्ने जानकारी पनि दिएको छ ।

महाशाखाका अनुसार आउँदो हप्ताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हप्ताको शुरुमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हप्ताको मध्यमा बाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा तथा मधेश प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा र हप्ताको अन्त्यमा तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हप्ताको मध्य र अन्त्यमा कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । यस्तै हप्ताको मध्य र अन्त्यमा देशभरका तराई तथा पहाडका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज पनि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News