अपडेट 
२०८१ बैशाख २२, शनिबार १३:२२

क्यानडियन प्रहरीले पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीयलाई पक्राउ गरेको छ।

शुक्रबार अलबेर्टाको एडमोन्टो सहरबाट तीन भारतीयलाई पक्राउ गरेको क्यानडियन प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। पक्राउ पर्नेमा २८ वर्षका करणप्रित सिंह, २२ वर्षका कमलप्रित सिंह र २२ वर्षका करण ब्रार छन्। उनीहरूको संलग्नता र पृष्ठभूमीबारे अनुसन्धान भइरहेको रोयल क्यानाडियन माउन्डेट पुलिसका सहायक कमिश्नर डेभिड टेबोलले बताएका छन्।

निज्जर हत्यामा अन्यको पनि संलग्नता हुन सक्ने र ती व्यक्तिहरू पनि चाँडै पक्राउ पर्ने उनले बताएका छन्। अहिले पक्राउ परेका तीन जनाको भारतीय एजेन्टहरूसँगको कनेक्सनबारे पनि अनुसन्धान भइरहेको उनले बताएका छन्।

गत वर्ष जुनमा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रे सहरको एक गुरूद्वाराको पार्किङमा गोली हानी ४५ वर्षीय निज्जरको हत्या भएको थियो। त्यतिबेलै क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको भनेका थिए।

निज्जर खालिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख भएको दाबी गर्दै भारत सरकारले निज्जरलाई आतंककारी घोषणा गरेको थियो। उनको नाममा भारतले पक्राउ पूर्जीसमेत जारी गरेको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्या भएपछि त्यतिबेलै संसदमा सम्बोधन गर्दै हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण क्यानेडियन सुरक्षा संस्थासँग रहेको दाबी गरेका थिए।

उनले क्यानेडियन भूमिमा क्यानेडिन नागरिकको हत्यामा विदेशी सरकारको कुनैपनि संलग्ना आफ्नो सार्वभौमसत्ताको अस्वीकार्य उल्लंघन रहेको बताएका थिए। यसबारेमा अमेरिकाले पनि भारतले त्यसो गरेको प्रमाणीत भए उसलाई कुनै छुट नहुने भनेको थियो।

भारतले भने क्यानडाको उक्त आरोपको खण्डन गर्दै आएको थियो। निज्जर हत्या प्रकरणबाट भारत र क्यानडाबीचको सम्बन्ध चिसिएको थियो।

Comment


Related News

Latest News

Trending News