२०८१ बैशाख २२, शनिबार १३:३२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणबारे संसदीय छानविन समिति बनाउन पहल भइरहेको बताएका छन्।

शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्को आगामी बैठकमा ठोस निर्णय हुन सक्ने बताएका हुन्।

‘सहकारीको जटिलता गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ‚’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने‚‘कुनै नेतालाई ताकेर होइन‚समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु।’

उनले संसदको अधिवेशन आह्वान गरिएको तर चल्ने नचल्ने निश्चित नभएको पनि बताएका छन्।

‘संसद त बोलाइयो तर चल्ने नचल्ने निश्चित छैन’ प्रधानमन्त्री प्रचण्डले भने ‘संवाद जारी रहे पनि निचोड निक्लिसकेको छैन। समाधान खोज्न केही दिनमा सर्वदलीय बैठक बोलाउँछु।’

प्रतिपक्षको काम नै सत्ता समीकरण भत्काउने परम्परा बनिसकेको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति नदेखिएको बताए।

‘तर सत्तापक्ष र प्रतिपक्षका कतिपय पार्टीहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर देखिन्छ‚’प्रचण्डले भने।

Comment

Related News

Latest News

Trending News