अपडेट 
२०८१ बैशाख २३, आईतवार ०६:३६

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष उपेन्द्र यादवलाई आसन्न महाधिवेशनमा पद छाड्न दबाब बढेको छ । एकताको महाधिवेशन भनिएको जसपामा सर्वसम्मतबाट यादव बाहेकको अध्यक्ष बनाउन कार्यकारिणी समितिका सदस्यहरु लागेका छन् ।

१६ वर्ष पछि हुन लागेको जसपाको राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सफल बनाउन यादवले पद त्यागगर्ने उदारता नदेखाए चुनावमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । कार्यकारिणी समितिका सदस्य समेत रहेका पूर्व मन्त्री इस्तियाक राइले एकताको महाधिवेशनको सकारात्मक सन्देश दिन अध्यक्ष यादवले त्याग देखाउनु पर्ने बताएका छन् । ‘२७ वर्षदेखि एकैजना पार्टीको अध्यक्ष रहँदै आएका छन्’ उनले भने, यस पटक नेतृत्व परिवर्तन हुनेछ । उनी आफै पनि उम्मेदवार रहेको बताएका छन् ।

‘राष्ट्रिय सहमति अनुसार अध्यक्ष यादवले पद छाडेर अगाडि बढनु पर्छ’ राइले भने, उनी आजिवन अध्यक्ष रहन चाहे म पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको छु । अध्यक्ष यादवले सहमतिमै अरूलाई अध्यक्ष बनाउँछन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै राइले भने, ‘म नै अध्यक्ष बन्नुपर्छ भने छैन, उहाँले आफूबाहेक अरू कसैलाई अध्यक्ष बनाए हुन्छ ।

जसपा अध्यक्ष यादवको निजी पार्टी रहेको आरोप लाग्दै आएको छ ।अध्यक्ष यादव तीन पटक उपप्रधानमन्त्री नै भइसकेका छन् । झण्डै तीन दशकदेखि अध्यक्ष रहेका छन् । अब नेतृत्व पुस्तान्तरण हुनुपर्ने राइले बताए । फोरमदेखि जसपा सम्म दर्जनौ नेताहरुलाई अध्यक्ष यादवले पाखा लगाउँदै आएका छन् । कयौं पटक पार्टी विभाजन भए पनि यादव अध्यक्षमा कायमै रहे ।

संघीय समाजवादी फोरम नेपाल विभाजनको अन्तिम समयमा केही घण्टा भित्र नै तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)सित एकीकरण गरेका अध्यक्ष यादवले दुई वर्ष नपुग्दै पूर्व राजपाका अधिकांशलाई अलग गरेर अध्यक्ष पद जोगाए । अध्यक्षमा उनलाई साथ दिने तत्कालीन कार्यकारिणी समितिका सदस्यहरु डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, गजाधर यादव लगायतलाई पनि उनले पाखा लगाईसकेका छन् ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया जारी नै रहेको छ । तर अध्यक्षबाट यादवलाई हटाउन सक्रिय रहेको समूहले दबाब बढाउन थालेको छ । यादवविरुद्ध पार्टी भित्रको सशक्त समूह लागि परेका छन् । बाहिरी रुपमा पनि उनका विरोधीहरु निकै सक्रिय देखिएका छन् । सर्वसम्मत रुपमा अध्यक्षका लागि रेणु यादव अथवा राजकिशोर यादवको नाम अगाडि आउन सक्ने पार्टी सम्बद्ध नेताहरुले जनाएका छन् । ‘पार्टीमा स्वाभिमान जोगाउन पनि नेतृत्व परिवर्तन आवश्यक छ’ कार्यकारिणी समितिका एकजना सदस्यले भने, ‘सधैँ एकै जना व्यक्तिलाई बोकेर लान सकिदैन् । झण्डै तीन दशकदेखि एउटै व्यक्ति अध्यक्ष रहेको फेरि पनि दावी गरिरहेकाले अन्य नेताहरुको कैरियर समाप्त हुने उनले बताए ।

मधेशी जनअधिकार फोरम (गैह्रसरकारी संस्था) को रुपमा २०५४सालमा भारतको पटनामा स्थापना भएदेखि अध्यक्ष यादव नै रहेका छन् । १० वर्षपछि मधेशी जनअधिकार फोरम नेपाल (राजनीतिक दल)२०६४ सालमा दर्ता भएको थियो । २०६५ सालमा वीरगञ्जमा प्रथम महाधिवेशनमा उनी अध्पयक्ष निर्वाचित भएका थिए । त्यसपछि यादव विभिन्न दलहरुसित एकतागर्दै पार्टीको नाम फेर्दै महाधिवेशन टार्दै आएका छन् । जनकपुरधाममा पनि जसपाको एकताको प्रथम राष्ट्रिय महाधिवेशन जेठ २८, २९ र ३० गते हुने भएको छ ।

यादव आफै उपप्रधानमन्त्री भएपछि भित्री रुपमा असन्तुष्टि बढेको छ । पार्टीको अध्यक्ष पनि स्थायी रहने र सरकारमा पनि आफै जाने भएपछि अन्य नेताहरुको कामै नरहेको टिप्पणी गर्न थालिएको छ । अध्यक्ष यादवविरुद्ध असन्तुष्ट समूहले दिने उम्मेदवारी हावादारी नहुने बताइएको छ ।

कार्यकारिणी समिति सदस्यहरुको मानमर्दन गर्ने, राजनीतिक समितिका सदस्यलाई संयोजक बनाएर कार्यकारिणी समितिलाई सदस्यमा राखिएको , केन्द्रीय सदस्यलाई संयोजक बनाएर राजनीतिक समितिलाई सदस्य राखिएको प्रति पनि पार्टीमा चरम असन्तुष्टि देखिएको छ । अध्यक्ष यादवले पार्टीको सम्पूर्ण गतिविधिमा एक्लै हावी रहेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

जसपाको स्वामित्व उपेन्द्र यादवमा नै कायम गराउने प्रमुख भूमिका निर्वाह गरेका कयौं कार्यकारिणी समिति सदस्यहरु पार्टी छाडेर गइसकेका छन् । एकताको महाधिवेशनमा यादवले उदारता नदेखाए विभाजन सम्मको स्थिति आउन सक्ने संभावना देखिन थालेको राजनीतिक समितिका एकजना सदस्यले बताए । केही महिनापूर्व मात्र अध्यक्ष यादवले मधेश प्रदेशका अध्यक्ष लगायत कयौं जिल्ला अध्यक्षहरुलाई अपमानपूर्ण ढंगले बर्खास्त गरेका थिए । त्यसको पनि आक्रोश महाधिवेशनमा देखिने बताइन्छ ।

Comment


Related News

Latest News

Trending News