अपडेट 
२०८१ बैशाख २३, आईतवार ०६:५१

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थलको जग्गा सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको छ ।

रङ्गशाला निर्माणका लागि राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयसँग भएको बहाल करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको छ । राखेपका कानुन शाखा प्रमुख नारायणराज अर्यालले शुक्रबार गुठी संस्थान केन्द्रीय कार्यालयलाई पत्राचार गरेर करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिइ निरन्तरता दिइने जानकारी गराएका छन् ।

रोपले रङ्गशाला निर्माणका लागि भनी गुठी संस्थानअधिनस्त जनकपुरधाम–१४ स्थित १६ बिघा १७ कठ्ठा १९ धुर १ कनमा जग्गा वार्षिक ९ लाख तिर्नेगरी २०७४ मंसिर ३ मा बहालमा लिने सम्झौता गरेको थियो । तर, यो जग्गामा खेल पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट बजेटको व्यवस्थापन नभएको, बहाल रकम महँगो भएको लगायतका कारण देखाउँदै राखेपले गत वर्ष पुस ३ गते गुठी संस्थानलाई पत्र पठाएर एकपक्षीय रूपमा सम्झौता भंग गर्ने निर्णय गरेको थियो । एकपक्षीय ढंगबाट बहाल करार सम्झौता भङ्ग गर्ने राखेपको निर्णय सार्वजनिक भएपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले तोकिएकै स्थानमा रङ्गशाला निर्माण गरी छाड्ने भन्दै सक्रियता बढाएका थिए ।

मेयर साह यसबीचमा संघीय राजधानी काठमाण्डु पुगेर युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, राखेपका सदस्य सचिव लगायतका पदाधिकारीलाई भेटेर सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएर रङ्गशाला निर्माण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका थिए । मेयर साहको सक्रियता र दौडधुपपछि राखेपले अन्ततः जग्ग बहाल करार सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिएको छ ।

प्रत्येक प्रदेशमा अन्तर्र ाष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने संघीय सरकारको नीतिअनुरूप रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माण कार्यान्वयन गर्न जनकपुरधाम उपमहानगरपालिकाले यो क्षेत्रमा पूर्वाधार तयार गर्न, सडक सञ्जाल निर्माण, बिजुलीबत्ती, खानेपानी र नाला निर्माणमा लाखौं खर्च गरिसकेको छ ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा पूर्वाधार विकासका लागि सहयोगको घोषणा गरेको सय करोड भारतीय रूपैयाँ पनि रङ्गशाला निर्माणमा खर्च गर्न मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाबीच सहमतिसमेत भएको छ । ‘‘मधेश प्रदेसको खेलकुद विकासको कोशेढुङ्गाको रूपमा हेरिएको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका निम्ति गुठी संस्थानको उक्त जग्गा आवश्यक रहेको सन्दर्भमा पूर्वसमयमा भएका सम्झौता भङ्गसम्बन्धी निर्णय र त्यसलाई कार्यान्वयन गर्न भए गरिएको पत्राचारसमेतलाई फिर्ता गरी पुनः २०७४ मंसिर ३ मा राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थान प्रधान कार्यालयबीच जनकपुरधाम १४ मा रहेको १६– १७–१९–१ जग्गा ३० वर्षका लागि बहाल करारलाई निरन्तरता प्रदान गर्न मनासिब हुने परिषद्को मिति २०८१ बैशाख २१ को सदस्य सचिवस्तरीय निर्णयअनुसार अनुरोध गरिन्छ,’राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

जनकपुरधामका मेयर साहले जग्गा करार सम्झौता भङ्ग गर्ने फिर्ता लिने राखेपको निर्णयलाई स्वागत गरेका छन् । उनले जग्गा सम्झौतालाई निरन्तरता दिने राखेपको निर्णयबाट जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको बाटोमा आएको अवरोध अन्त्य भएको बताए ।

‘जनकपुरधाममा अन्तर्र ाष्ट्रियस्तरको रङ्गशाला निर्माण हाम्रो ठूलो चाहना हो, यसलाई हामीले मधेश प्रदेशकै गौरव योजनाको रूपमा हरेका छौं,’ साह भन्छन्,‘समग्र मधेशको खेलकुद विकासका लागि रङ्गशाला अनिवार्य रहेको छ । राखेपले सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको छ, यो सकारात्मक पक्ष हो। तोकिएकै स्थानमा रङ्गशाला निर्माण गर्नेमा हामी प्रतिबद्ध छौं । उपमहानरपालिका एक कदम पनि पछाडि हट्दैन ।’ गत साता काठमाण्डुमा मेयर साह र राखेपका सदस्य सचिवलगायतका पदाधिकारीसँग भएको वार्तामा एक साताभित्र करार सम्झौता फिर्ता गर्ने सहमति भएको थियो ।

Comment


Related News

Latest News

Trending News