अपडेट 
२०८१ बैशाख २४, सोमबार ०७:३२

भर्ना गरेपछि आफ्ना नानीबाबुको पढाइ तथा अन्य क्रियाकलाप बुझ्न एक दिन पनि उपस्थित नहुने सामुदायिक विद्यालयका अभिभावक अचेल विशेष चासोका साथ विद्यालय पुग्ने गरेका छन् । गौरको चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयले वार्षिक परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई सोही कक्षामा राख्ने निर्णय लिएपछि परीक्षाफल बुझ्न अभिभावक विद्यालय पुग्ने गरेका छन् ।

अघिल्ला शैक्षिक सत्रहरुमा विद्यालयले वार्षिक परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई पनि माथिल्लो कक्षा पढ्न पाउने अवसर दिँदै आएको थियो । त्यसताका एक जना अभिभावक पनि विद्यालय जाँदैन थिए । आफ्ना नानीबाबुको पढाइ तथा अन्य क्रियाकलापको बारेमा कुनै चासो राख्दैनथे । सायद सामुदायिक विद्यालयलाई हेर्ने दृष्टि नै फरक भएर होला आफ्ना नानीबाबुको गृहकार्य, सरसफाइ एवम् पोशाकमा समेत ध्यान दिँदैनथे । विद्यालयका सहायक प्रधानाध्यापक वसन्त सापकोटाले भने–‘सबै विषय लागेका विद्यार्थीलाई कक्षा उकाल्दा उनीहरुमा अध्ययन गर्ने बानी मरेको देखियो । अनुत्तीर्ण हुँदा पनि माथिल्लो कक्षा अध्ययन गर्न पाइहालिन्छ भन्ने सोचले विद्यार्थीले पढाइलाई वास्ता गर्न छाडे । शिक्षकले पनि अध्यापन कार्यमा उदासीनता देखाउन थाले ।

यस्तो अवस्थामा विद्यार्थीमा पढ्ने र शिक्षकमा पढाउने भावनाको विकास गराउने उद्देश्यले चालु शैक्षिक सत्रबाट अनुत्तीर्ण विद्यार्थीलाई कक्षा दोहो¥याउन लगाइएको छ । अनुत्तीर्ण विद्यार्थीको परीक्षाफल बुझ्न दैनिक १५÷२० जना अभिभावक विद्यालय आउने गरेका छन् ।’ अनुत्तीर्ण भएका विद्यार्थीका अधिकांश अभिभावक उत्तीर्ण गराई माग्न विद्यालय पुग्ने गरेका छन् । विद्यालयले त्यस्ता विद्यार्थीको परीक्षाफल अभिभावकलाई देखाउने गरेको छ ।

सबै विषयमा अनुत्तीर्ण भएको अभिलेख देखेपछि अभिभावक भन्छन्, “नानीबाबुले गृहकार्य गरे गरेनन्, पाठ्यपुस्तक अध्ययन गरे गरेनन् भनी घरमा चासो नराख्दा र बेलाबेलामा विद्यालय पुगी उनीहरुको पढाइ वा अन्य क्रियाकलापको बारेमा बुझ्ने प्रयास नगर्दा स्वेच्छाचारी बनेका उनीहरु अन्ततः अनुत्तीर्ण भएका छन् ।’ कक्षा एकदखि १० सम्मका करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा झण्डै ३० प्रतिशत विद्यार्थी अनुत्तीर्ण छन् ।

अनुत्तीर्ण विद्यार्थीलाई सोही कक्षामा दोहो¥याउन लगाउने जिल्लाको एक मात्र विद्यालय जनज्योति माविको उक्त निर्णयले विरोधभन्दा बढी प्रशंसा बटुलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले बताए । उनले भने–‘विद्यालयले गरेको उक्त निर्णयबाट बालबालिका अध्ययनशील बन्ने र अभिभावक आफ्ना नानीबाबुप्रति बढी जिम्मेवार बन्ने विश्वास छ । अभिभावकलाई बेलाबेलामा विद्यालय उपस्थित भई आफ्ना नानीबाबुको बारेमा जानकारी लिन अनुरोध गरिएको छ ।’

Comment


Related News

Latest News

Trending News