सर्लाहीको चुरे भेगका बस्ती खानेपानी समस्याले काकाकुल बनेका छन् । बढ्दो खडेरीका कारण त्यस भेगमा रहेका धारा, इनार र कुवा सुकेपछि खानेपानीको समस्या चुलिएको छ । चुरे पाखामा बसोबास गर्ने स्थानीय पिउने पानीको जोहोमा रातदिन भौँतारिन थालेका छन् ।
लालबन्दी नगरपालिका–१४, नारायणखोलाका रोशन दोङले खडेरीले बालीनाली सबै सुकेर बर्बाद भएको र पिउने पानीको समेत हाहाकार मच्चिएको जानकारी दिए । “बालीनाली सुकेर केही छैन, यही बेला खानेपानीको पनि चरम समस्या भइरहेको छ,” दोङले भने, “खोला, खोल्सीमा ठाउँ ठाउँमै कुवा खोस्रिएर प्यास मेटाइरहेका छौँ ।” दोङले लामो समयदेखि आकासे वर्षा नहुँदा खोला, खोल्सामा पानी रसाउन छाडेको बताएका छन् ।
पानीका स्रोत सुक्दा चुरेको दुर्गम भेगमा बसोबास गर्ने स्थानीय पानीकै लागि घण्टौँ धाएर टाढा टाढासम्म पुग्न बाध्य भएका छन् । हरेक वर्ष हिउँदका याममा चुरे भेगमा पर्ने परवानीपुर, कालिन्जोर, नारायणखोला, ढुङ्ग्रेखोला, अत्रौलीलगायत क्षेत्रमा खानेपानीको चरम समस्या हुने गरेको छ । पानी नहुँदा स्थानीयलाई सरसफाइ गर्न र वस्तुभाउ बचाइराख्नसमेत समस्या पर्न थालेको छ ।
ईश्वरपुर नगरपालिका–१२, शिर फूलजोरका पूर्णबहादुर थिङले यो वर्ष चुरे भेगमा समेत अत्यन्त तातो हावा चलेर पानीका मुहान सबै सुक्दा दैनिकी गुजार्न नै अप्ठेरो परेको दुःखेसो पोखे । “चुरे भेगमा यति साह्रो गर्मी र तातो हावा महसुस भएको थिएन तर यो वर्ष त उल्कै भयो,” थिङले भने,“वैशाख जान लाग्दा बारी सबै बाँझो नै बसेको छ, पानी नपाएर मान्छे र वस्तुभाउ टिक्नै गाह्रो पर्न थालिसक्यो ।” यो वर्ष चुरेकाछमा नै खोला सुकेका छन् । चुरे भेगमा आकासे वर्षाबाहेक अन्य विकल्प पनि छैन ।
लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलले चुरे भेगमा खानेपानीका मुहान सुक्न थालेको गुनासो आउन थालेको बताए । “देउराली क्षेत्रमा पानी सुक्यो भन्ने गुनासो आएको छ, चुरेपाखाका अन्य भेगमा पनि यो याममा खानेपानीको धेरै नै समस्या हुन्छ,” वडाध्यक्ष बलले भने, “हामीले सम्भव भएसम्मका ठाउँमा पानी पुर्यारहेका छौँ तर चुरेको भूगोल ठूलो भएकाले सबैतिर लिफ्टिङ गरेर पानी पुर् याउनै गाह्रो छ ।” वडाध्यक्ष बलले वडा नं. १५ को अर्नेडाँडा र बाहुनेडाँडामा लिफ्टिङ गर्दा पनि भूगोल असाध्य विकट रहेकाले खानेपानी पुर्याउन अत्यन्त चुनौती रहेको बताए ।
चुरेका केही बस्तीमा पालिका आफैँले तथा खानेपानीको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थासँग समन्वय गरी खानेपानी पुर्याएका छन् । यस्तै लामो समयदेखि पानी पर्न नसक्दा पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगका गाउँमा चापाकल सुक्दा खानेपानीको समस्या बढ्दो छ ।