अपडेट 
२०८१ बैशाख २५, मंगलवार ०७:२३

महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यस वर्ष किसानहरूबाट खरिद गरेको उखुको सबै भुक्तानी गरेको छ । समयमै भुक्तानी पाउँदा किसान खुसी भए पनि उखुको उचित मूल्य नपाएकोमा भने खिन्नता प्रकट गरेका छन् ।

एभरेष्टले क्रसिङ सिजन २०८०/८१ का लागि २९ लाख चार हजार ५११ क्विन्टल उखु खरिद गरी दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको जनाएको छ । एभरेष्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले खरिद गरिएका उखुको एक अर्ब ६१ करोड ९० लाख ६३ हजार रुपैयाँ किसानको खातामार्फत भुक्तानी गरेको बताए ।

यस पटक एभरेष्टले महोत्तरी, सर्लाही, रौतहट तथा धनुषाका गरी १४ हजार चार सय ४४ जना किसानबाट उखु खरिद गरेको थियो । ठाकुरका अनुसार उखुको मिल गेटमा ५६५ र खरिद केन्द्रबाट ५४० रुपैयाँ प्रति क्विन्टलको दरले किसानको खातामा भुक्तानी गरिएको छ । उचित मूल्य र समयमै भुक्तानी न पाउँदा बर्सेनि उखु खेती घट्दै गएपछि एभरेष्टले गत वर्षदेखि वर्ष उखु खरिद गरेको साता दिनभित्र भुक्तानी दिने नीति लिएको थियो । ‘‘यो नीतिमा पनि अझ लचिलो बन्दै यसपालादेखि उखु खरिद गरेको पाँच दिनभित्रै भुक्तानी पठाइको हो’’ ठाकुरले भने ।

समयमै भुक्तानी भएकाले आगामी दिन उखु खेतीमा वृद्धि हुने एभरेष्टको अपेक्षा छ । यो वर्ष किसानले १२ हजार ५ बिघामा उखु खेती गरेका थिए आउँदो सिजनमा १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ । यसका लागि एभरेष्टले फिल्ड सर्वे गर्न प्राविधिकहरूलाई खटाएको छ । सर्वेको काम सकिएपछि मात्र उखु खेतीको क्षेत्रफलबारे यकिन जानकारी हुने उनले बताए ।

उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार यो वर्ष कारखानाले नयाँ रेट ५४० रुपैयाँको दरले समयमै भुक्तानी दिनु सकारात्मक पक्ष भए पनि उखुको उचित मूल्य नपाउँदा किसानमा अझै नैराश्य छाएको प्रतिक्रिया दिए । उनका अनुसार एकातिर खडेरीको प्रकोपले गत वर्षदेखि उखु उत्पादनमा ह्रास आउँदै गएको छ ।

अर्कोतिर उखु खेतीका लागि आवश्यक मल, बीउ, मजदुरी, इन्धन र ढुवानी खर्च आकासिएकाले ५४० रुपैयाँ रेटले खर्च पनि उपर हुँदैन । यसैलाई आधार बनाएर उखु उत्पादक कृषक संघ तथा महासंघले उखुको पुराने मूल्यमा ११० रुपैयाँ थप गरी प्रति क्विन्टल सात सय रुपैयाँ पु¥याउनुपर्ने माग राख्दै आएका थिए । तर मिलले ५४० र सरकारले अनुदान वापत ७० रुपैयाँ दिने गरी प्रति क्विन्टल उखुको नयाँ मूल्य ६१० रुपैयाँ निर्धारण गरिएको छ ।

अनुदान बापतको ७० रुपैयाँ भने सरकारले दसैँ तिहार बितेपछि भुक्तानी दिने गरेको छ । समयमै भुक्तानी नपाउँदा सरकारी अनुदानको अनुभूति गर्न नपाएको उखु किसानले गुनासो गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News