अपडेट 
२०८१ बैशाख २८, शुक्रबार ०६:४०

जलेश्वर नगरपालिका वडा नं. २ बस्ने ४० वर्षीया निलम चौधरीको दुवै मिर्गौलाले काम नगरेका कारण हप्तामा दुई दिन डायलायसिस गराउनुपर्छ । जलेश्वर क्षेत्रमा डायलायसिस नहुँदा चौधरीलाई हरेक हप्ताको दुई दिन जनकपुरधाम जानुपर्ने बाध्यता छ ।

यसले आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको मिर्गौला पीडित चौधरीका पति विष्णु चौधरीले जानकारी दिइन् । उनले तीन वर्षदेखि निरन्तर रूपमा पत्नी निलमलाई जलेश्वरबाट हप्ताको सोमबार र बिहीबार दुई चोटि डायलायसिसका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लानु परिरहेको बताउँदै गाडी भाडा, समय तथा अन्य खर्चले हैरानी बनाएको गुनासो गरिन । उनले पालो लिन तोकिएको दिन बिहानै पुग्नुपर्छ अनि मात्रै पालो पाउने गरेको तथा एकपल्ट कम्तीमा चार घण्टासम्म डायलायसिस हुने गरेकाले समय बढी लाग्ने गरेकाले नजिककै स्वास्थ्य संस्थामा यो सेवा दिन जरुरी रहेको बुझाइ चौधरीको छ ।

प्रादेशिक अस्पताल जलेश्वरमा एक वर्षदेखि डायलायसिस सेवा सुरु हुने भनिएता पनि अहिलेसम्म सुचारु नभएको चौधरीले बताइन् । जनकपुरधामको प्रादेशिक अस्पतालमा १८ वटा डायलायसिस मेसिनबाट सेवा प्राप्त भइरहेको छ । चौधरीले बिरामी बढ्दै गए सेवाग्राहीहरूलाई समस्या हुन सक्ने भएकाले मिर्गौला रोगीहरूका लागि अति आवश्यक रहेको हेमोडायलायसिस सेवा जलेश्वरमै सुचारु गर्न सरोकारबाला निकायसँग आग्रह गरिन् ।

यसैगरी, जलेश्वर नगरपालिका वडा नं. २ कै ५० वर्षीय चन्देश्वर पासमान विगत एक वर्षदेखि डायलायसिसका लागि जनकपुरधाम धाइरहेका छन् । महोत्तरी जिल्लामा एउटा पनि डायलायसिस मेसिन नहुँदा मिर्गौला बिरामीहरूलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको छ । मिर्गौलाले ९० प्रतिशतसम्म काम गर्ने क्षमता गुमाइसकेको अन्तिम अवस्थामा डायलायसिस गर्ने गरिएको चिकित्सकहरू बताउँछन् ।

नेपाल सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ । सुरु सुरुमा एक पटक डायलासिस गरे २५ सयदेखि तीन हजारसम्म तिर्नु परेको बत्ताउँदै विष्णु चौधरीले स्थानीय तह तथा स्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर जाँदा निःशुल्क गरिएको बताए ।

प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा विगत तिन वर्षदेखि पाँच थान डायलायसिस मेसिन राखिएको छ । जनशक्ति नहुँदा थन्किएको मेसिनका लागि एक वर्ष यतादेखि जनशक्ति र व्यवस्थापन थालिएको प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिनु झाले बताउछिन् । उनले जनशक्ति तथा मेसिन व्यवस्थापनको कार्य गरिएपनि पानीका कारणले सेवा सुचारु हुन नसकेको बताइन् ।

छ पल्टभन्दा बढी पानी चेकजाँचका लागि काठमाण्डु पठाए पनि पानीमा देखिएको गडबडीले सेवा सुचारुमा समस्या देखिएको बताउँदै अध्यक्ष झाले केही दिन भित्र सेवा सुचारु गर्ने गरी कार्य अगाडि बढिसकेको बताइन् । शुद्ध पानीका लागि पुनः अर्को मेसिन लगाएर पानी चेकका लागि पटाउँछौँ, त्यहाँबाट पोजेटिभ रेस्पोन्स आयो भने सेवा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढिसकेको अध्यक्ष झाले बताइन् ।

प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीका डायलायसिस टेक्निसियन पूजा लाल दासले डायलायजर (कृत्रिम मिर्गौला) एउटा विशेष फिल्टर रहेको र यसमा मेसिनद्वारा बढी भएको तरल पदार्थ र फोहोर पदार्थलाई बाहिर फाल्ने र विशेष झोलको मद्दतले शुद्ध रगत बनाउने कार्य गरी पुनः सो शुद्ध रगतलाई शरीरमा पठाउने कार्य गर्ने गरिएको जानकारी दिए ।

डायलायसिस गराउने बिरामीले नियमित रूपमा खाना, पानी, औषधी सेवन नगर्ने हो भने थप डायलायसिस गराउनुपर्ने जोखिम हुने र यसले कुपोषण हुने, किड्नी फेल हुने र मृत्यु सम्म गराउने जोखिम हुने भएकोले डायलायसिस गराउने रोगीले नियमित रूपमा औषधी सेवन गर्न आग्रह टेक्निसियन दासले गरे ।

Comment


Related News

Latest News

Trending News