अपडेट 
२०८१ बैशाख २९, शनिबार ०९:२१

भारत सरकारले राम गमन स्थानहरुको पहिचान गरी रामयाण सर्किटको रुपमा विकास गर्न केहि वर्ष यता शुभारम्भ गरेको छ । यस सम्बन्धी एउटा उच्चस्तरीय समिति पनि भारतको पर्यटन मंत्रालयले बनाएको छ । डा. राम अवतार शर्माको अध्यक्षतामा बनाएको उक्त समितिको प्रयासमा भारतका ९ राज्यमा १५ स्थललाई श्री रामको पद चिन्ह भएको चिन्हित गरी त्यसको विकासको लागि प्रयास गर्दै आएको छ ।

यधपि डा. शर्माले ११ राज्यको ८० जिल्लामा २९० पद चिन्ह को चर्चा आफ्नो शोध ग्रन्थमा गर्नु भएको छ । योजना अनुसार उक्त चिन्हित स्थानहरुको अतिरिक्त सुविधा सम्पन्न बनाउने, सडक, रेल र हवाई यात्रा संग जोड्ने । जहां हवाई अड्डा छैन त्यहां बनाउने । पर्यटकहरुलाई हरेक प्रकारका सुविधाहरु उपलब्ध गराई अध्यात्मिक सुख र शांतिको वातावरण बनाउने लक्ष्य राखिएको छ ।

मई १० शुक्रबार २०१८ ई. मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जब जनकपुरधाम आएका थिए, उनले खुल्ला हृदयले रामायण सर्किट परियोजनामा नेपाललाई जोड्ने घोषणा मात्रै हैन, जनकपुरधाम–अयोध्या बस संचालनको शुभारंभ गरेर यसको औपचारिकता पनि प्रदान गरेका थिए । त्यतीकै हैन जनकपुरधामको अध्यात्मिक विकासको लागि १ अरब रकम अनुदान दिने घोषणा पनि गरेका थिए । यधपि त्यो रकमको ’सहुपयोग’ कहां भै रहेको छ । यकीन गर्न सकिएको छैन ।

अब यहां एउटा प्रश्न जन्मलिन्छ– रामायण सर्किटमा श्री रामको पदचाप परेका ठाउँहरुको चिन्हित गरिएको छ । त्यो पनि एक जना साधक अनुसन्धाता डा. राम अवतार शर्मा ज्यूको प्रयास बाट । हामी पनि किन न ’सीतायण सर्किट’ को प्रारंभ गर्ने । नेपाली कांग्रेसका प्रबुद्ध नेता माननीय विमलेन्द्र निधिले एक भेंटमा यस्तै प्रशन गरी मलाई झस्काई दिनु भएको थियो। ’सीतायण सर्किट’ किन हुंदैन ! सांच्चिकै नेपाली भूमिमा हाम्रा अराध्य देव श्री रामका साथ आफ्नै भूमिकी माता सीताको पदचिन्ह लाई बटुलेर सार्वजनिक गर्ने हिम्मत वा प्रयास किन कसैले गर्न सकेका छैनन् । यसको लागि पनि एउटा राजनेताकै चिन्तन अगाडी आउनु किन प¥यो ?

हुनत विगत केहि समय यता जनकपुरधाम र अयोध्याको सम्बन्ध विस्तारको कार्यमा उहांको अग्रसरता सरहिनीय रहंदै आएको छ । अब यो ’सीतायण सर्किट’ प्रति हाम्रो ध्यान जानै पर्दछ । के गर्ने ? जे गरे पनि शून्य बाट प्रारंभ गर्नु पर्दछ । यसको लागि भारतीय अनुसन्धाता डा. शर्मा जति कुशल, मिहनती र विषयगत अनुसन्धाता हुनु पर्दछ अथवा त्यस्तै विज्ञहरुको टोलीका माध्यम बाट वाल्मिकी र तुलसीदासको रामायणलाई आधार बनाएर मंदिरजने बाटोको खोजी गर्नु पर्दछ । यो खोजीको काम पांचभागमा गर्न सकिन्छ ।

पहिलो – माता सीताको जन्म भए पछि विवाह पूर्व उनले दरबार बाहिर जाने गर्नु भएका ठाउँहरुको पहिचान गर्नु पर्दछ । यस्ता त दुई प्रसंग देखिएका छन् । सखीहरु संग क्रिडा गर्न, फूल टिप्न देखि गिरिजा मंदिर जाने जस्ता प्रसंगहरु छन् । दोश्रो– विहे भएपछि श्री राम संग अयोध्या जाने वाटो यधपि यसमा भुईमा हिड्ने पद चिन्हको संभावना कम हुन सक्तछन् । तेश्रो – श्री राम संग बनगमन काल देखि लंका सम्मको यात्रालाई लिन सकिन्छ । भारतीय विद्वान अनुसन्धाताले सीताजीको श्री राम संगै बनगमन गएको भए पनि मात्र श्री रामको पद चिन्ह खोज्नु भयो, स्वभाविक छ । उहां संग माता सीताको उपस्थिति थियो र उहांको पद चिन्ह पनि फेला पार्नु पर्दछ । चौथो – बनमा रावणबाट अपहरित भए पछि उनी लंका लगीइन त्यहां अशोक वाटिकामा राखिएकी थिइन ।

तर त्यस बीचमा उनी रावणको दवावमा उनको महल तिर पनि गएको उल्लेख वाल्मिकी रामायणमा छ । हाम्रा विज्ञ समूहले लंकामारावणको महल तिरका संभावित क्षेत्रमा पनि सीतामैयाको पद चिन्ह खोज्ने प्रयास गर्नु पर्दछ । पाचौं – लंका बाट अयोध्या फर्कदा श्री राम द्वारा लोक वचनको आधारमा जब माता सीतालाई बनमा पठाइयो, तब उनी गएको बन र बाल्मिकी आश्रममा बस्दा खेरीका पद चिन्हहरु खोज्नु पर्दछ । वास्तवमा यो प्रारंभ विन्दू हो । म रामायण वा वाल्मिकी रामायण बारे विज्ञ होइन ।

एउटा साधारण जिज्ञाशाकै हैसियतमा मैले यो धारणा राखेको छु । यसको लागि वृहत् विमर्शको आवश्यकता छ । रामायणका ज्ञाताहरु, माता सीताको जीवन चरित्र लाई राम्ररी अध्ययन गर्ने अनुसन्धाता, प्रवचनकर्ताहरु र नेपालको धरतीमा जगतजननी जानकीको अवतरण देखि दोहरो वन गमन र पाताल प्रवेस सम्मका सम्वेदनशील घटना/प्रतिघटनाका अध्यात्मिक साक्षीहरु बाट बड़ो लगनले यो काममा अगाडी आउनु पर्दछ । मैले अगाडी नै भने त्यसको लागि वृहत विमर्शको जरुरी छ । के यो विमर्शको आयोजन जनकपुरधाम उप–महानगरपालिकाले गर्लान, साधु सन्तले गर्लान्, जानकी मंदिरले गर्लान, पर्देश सरकार वा केन्द्र सरकारले गर्लान् ।

भारतमा त केन्द्रिय पर्यटन विभागले रामायण सर्किटको जिम्मा लिएको छ । नेपालमा नि ! यो अभियान श्रमसाध्य, कष्ट साध्य र अर्थ साध्य पनि हो । त्यसैले यसलाई सामूहिक सहयोगको आवश्यकता छ । काम अगाडि बढाउँदै सर्किटकै अगाडी कडीको रुपमा यसको विकास गर्ने भारतीय प्रधानमन्त्रीको वाचा नै हो भनेउताबाट पनि कमसेकम भारतीय क्षेत्रका अनुसन्धान प्रकरणमा हरेक किसिमको सहयोग प्राप्त गर्न सक्ने संभावना त छंदैछ ।मात्र पहल र उपयुक्त पात्रको खोजी प्रमुख हो । मेरो जिज्ञाशाको यही प्रश्न छ – हामी सीतायण सर्किट तिर किन न लाग्ने ? (लेखक ः मधेश प्रज्ञा – प्रतिष्ठान, मधेश प्रदेश, जनकपुरधामका अध्यक्ष हुन्)

Comment


Related News

Latest News

Trending News