
पर्सा प्रहरीले नै दलित बालिका बलात्कार घटना दबाउने प्रयास गरेको आरोप लागेको छ ।
बिचौलियाको सक्रियतामा प्रहरी अधिकारीले बलात्कारको मुद्दा दर्ता गर्न अनाकानी गरेको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुगेल बिदा गएको वेला निमित प्रमुख रहेका प्रहरी नायबउपरिक्षक (डीएसपी) कुमार बिक्रम थापा बिचौलियाको प्रभावमा परेर घटना दबाउन चलखेल गरेको पीडितले आरोप लगाएका छन् ।
पर्साको कालिकामाई गाउँपालिकामा–३ हरिहपुर विर्ताकी १३ बर्षीया बालिकालाई उनकै छिमेकका ५० बर्षीय बनारसी महतो केवटले बैशाख २२ गते शनिबार राति बलात्कार गरेको आरोप छ । चापाकलमा पानी लिन घरबाट बाहिर निस्केको बेला छिमेकका केवटले मुख थुनेर बाँसघारीमा लगेर नशालु पदार्थ सुंघाएर बेहोश बनाइ बलात्कार गरेको पीडित बालिकाको भनाइ छ । पानी लिन गएकी बालिका घर नफर्के पछि घर परिवारले खोज तलास सुरु गरेका थिए ।
आइतबार बिहान बाँसघारीमा युवतीलाई टोलका महिलाहरु अचेत अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए । बेहोस बालिकालाई घरमा ल्याएर घरेलु उपचार गरेको र होश खुलेपछि रुदैं छोरीले आफूसंग केवटले गरेको दुष्कर्मका बारेमा सविस्तार बताएको पीडिताका बुवाले बताए ।
घटनाबारे आरोपित केवटको घरमा बैशाख २३ गते बिहान आफूहरु पुगेर सोधीखोजी गर्दा केवटले आफूले बलात्कार गरेको स्वीकार गर्दै १ लाख रुपैयाँ लिएर चुपचाप बस्न धम्की समेत दिएको पीडित परिवारजनको आरोप छ । पीडित बालिकाका वुवाले भने,‘ केवटले तिमीहरु सानो जातका हौं केही गर्न सक्दैनौ मलाई । मेरो पहुँच ठूलाबडा नेताहरुसंग छ ।’ आरोपित केवट अपराधी चरित्रको व्यक्ति भएको पहिला पनि अपहरण तथा ज्यान मार्ने मुद्दामा १० बर्ष जेल सजाय काटेर छुटेका व्याक्ति छन् ।