अपडेट 
२०८१ बैशाख ३०, आईतवार ०८:०७

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर युद्ध जितेको सोच्नु दिवास्वप्न रहेको बताएका छन् ।

अध्यक्ष यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवास्वप्न रहेको बताए । ‘केही स्वार्थीहरुलाई प्रलोभनमा पारेर अलग गरिएको छ ’उनले भने, जसपा नेपालमा त्यसले कुनै असर पर्ने छैन् ।’ मधेशी स्वास्थ्यकर्मी फोरमको चौँथो राष्ट्रिय महाधिवेशनको शनिवार उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए । तर पार्टी कसले फुटाए भने उनले प्रष्ट रुपमा भन्न चाहेनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै अध्यक्ष यादवले २/४ जना लोभी पापीलाई अलग्याउँदा पार्टी नै फुटाएको उनलाई भ्रम भएको बताए । निर्दलीय व्यवस्थाविरुद्ध लडेका कांग्रेस, कम्युनिष्टलाई कमजोर देखाउन पनि यस्तै षडयन्त्र हुन्थ्यो, अध्यक्ष यादवले भने ‘षड् यन्त्र गर्नेहरु मात्र नभइ त्यो व्यवस्था नै सखाप भयो, अहिले आएर जसपा नेपाल विरुद्ध गरिएको षडयन्त्र स्वरुप २÷४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो ।’ अध्यक्ष यादवले पार्टीमा एकलौटी गरेको, अन्य पदाधिकारीहरुको भावनालाई उपेक्षा गरेकाले बाध्य भइ पार्टीबाट अलग भएको जसपाका पदाधिकारीहरुले आरोप लगाउने गरेका छन् ।

पञ्चातयकालमा निरंकुशताविरुद्ध लडिरहेका बेला तत्कालीन शासन सत्ताले केही लोभी पापीलाई काँग्रेस र कम्युनिस्टबाट ल्याइ पञ्चायतमा प्रवेश गराउँदै वक्तव्यबाजी गर्ने गरेको स्मरण गर्दै अध्यक्ष यादवले भने, ‘त्यो व्यवस्था पनि पतन भयो । त्यो व्यवस्था टिकाउन खोज्नेको पनि पतन भयो ।’ मधेशको मुद्दा, संघीयता संस्थागतलगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिले देखि नै षडयन्त्र हुँदै आइरहेको स्मरण गर्दै अध्यक्ष यादवले सोही षडयन्त्रस्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपालमाथि प्रहार गरिएको बताए ।

जसपा नेपालमाथि गरिएको प्रहार मधेशमाथि प्रहार रहेको भन्दै अध्यक्ष यादवले पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नभएको दाबी गरे । उनले पार्टीमा केही सांसदको संख्या केही दिनकालागि कम भएको बताए । अध्यक्ष यादवले भने ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थपूर्ति हुन्छ उतै लाग्छन् होला ? ’ अगाडि थप्दै भने ‘जसरी शरीर स्वस्थ्य रहनका लागि बिकार निकाल्नु पर्छ राम्रै भयो, बिकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडि बढ्ने छ ।’ मधेशको मुद्दा र संघीयता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने उनले बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशनसमेत दिए ।

जेठ २८, २९ र ३० गते एकताको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरधाममा गर्ने जसपा नेपालले निर्णय गरिसकेको छ । त्यस अघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै जसपा नेपालका अध्यक्ष यादवले भने, ‘कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन ।’ स्वास्थ्यकर्मी फोरमका कार्यवाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय राज्यमन्त्री दीपककुमार कार्की , अर्थमन्त्री संजयकुमार यादव, जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव लगायतकाले महाधिवेशनको शुभकामना दिएका थिए । यता मधेसी स्वास्थ्यकर्मी फोरमको चौँथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रपछि आइतबार बन्दसत्र चल्ने छ भने सो बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने जनाइएको छ । सो बन्दसत्रमा प्रतिनिधि र पर्यवेक्षक गरी ४ सय ८० जना सहभागी रहेका छन् ।

Comment


Related News

Latest News

Trending News