प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल सकारात्मक भएको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौँ, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’
बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो दिन नै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको अवस्थामा कांग्रेसले आगामी बैठक पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।
कांग्रेस प्रमुख सचेतक लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए । कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।