अपडेट 
२०८१ बैशाख ३१, सोमबार ०७:००

मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । सरकारमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसले सरकार जोगाउन अगाडि आएको छ । प्रदेशमा सत्ता साझेदार रहेको नेकपा एमाले र माओवादी केन्द्रले आइतबार सरकारबाट बाहिरिएसँगै समर्थनसमेत फिर्ता लिएका छन् ।

उच्चस्रोतका अनुसार केन्द्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकारलाई निरन्तरता दिने सहमति भएको छ । तटस्थ रहेको लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)पनि सरकारमा सहभागी हुने वातावरण बनाउन कांग्रेस र जसपा नेपालले संयुक्त रुपमा पहल थालेको स्रोतले जनाएका छन् । लोसपा मधेश प्रदेशका अध्यक्षसमेत रहेका सभासद जितेन्द्र सोनलले हाल कुनै गठबन्धनमा नरहेको प्रष्ट गरेका छन् । ‘पार्टीको केन्द्र र प्रदेश समितिले मधेश प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे कुनै निर्णयमा पुगेको छैन’ उनले भने, वैशाख ४ गतेको निर्णय जसपा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने मात्र रहेको थियो ।

एमाले, माओवादी र जनमत पार्टी संसदीय दलका नेताहरुका साथ लोसपाका प्रमुख सचेत रानी शर्मा र उपनेता उपेन्द्र महतोसमेत बैठकमा सहभागी भएर एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेको एमालेका नेताहरुले जनाएका छन् । एमालेका केन्द्रीय सदस्य सञ्जिव कुमार झॉसुरज’ले एमालेको नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको बताएका छन् ।

सरकार गठनका लागि बहुमत सदस्यहरुको हस्ताक्षरसमेत भइसकेको उनले दाबी गरे । तर लोसपाका प्रदेश अध्यक्ष सोनलले कोही व्यक्तिगत रुपमा कसैसित चिया खान जाँदैमा अथवा फोटो खिँचाउदैमा पार्टीको निर्णय भएको नमानिने बताएका छन् । ‘लोसपा पर्ख र हेरको अवस्थामा अहिले रहेको छ’ उनले भने, ‘हामी सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाँै, उचित समयमा ठोस निर्णय लिने छौँ ।’तीव्रगतिमा बदलिएको राजनीतिक घटनाक्रमले प्रदेश सरकार संकटमा परेको हो ।

बैशाख ४ गते सरकारले चौथो पटक विश्वासको मत लिँदा एमाले र माओवादीले साथ दिएको थियो । जनता समाजवादी पार्टी(जसपा)नेपाल फुटाएर संघीय सरकार जोगाउन एमाले र माओवादीले केन्द्रमा सफल भएसँगै मधेश प्रदेशमा जसपा नेपालको संसदीय दल फुटाउन सरकारबाट समर्थन फिर्ता लिएको आरोप लागेको छ ।

माओवादी केन्द्रले सरकारलाई अल्पमतमा पार्ने खेलमा केही महिनादेखि निरन्तर लागेको थियो । माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेका युवराज भट्टराई र पद बहाली नगरेका वन तथा वातारण मन्त्री भरत साहले मुख्यमन्त्रीलाई राजीनामा दिए लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयमा दर्ता गराएका थिए ।

१ सय ७ सदस्यीय मधेश प्रदेशमा सरकारका लागि ५४ जना सभासद चाहिन्छ । लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् । एमालेका रामचन्द्र मण्डल सभामुख रहेका छन् । सभामुख सहित एमालेको २५ जना , कांग्रेसको २२ जना, जसपा नेपालको १९ जना, जनमतको १३ जना , माओवादी केन्द्रको ९ जना, लोसपाको ८ जना, नेकपा एसको ७ जना , राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को १ जना, संघीय समाजवादी पार्टीको १ जना र नागरिक उन्मुक्ति पार्टीको १ जना सभासद रहेका छन् । सरकार नढल्नेमा ढुक्क रहेका मुख्यमन्त्री यादवले कांग्रेसका २२ जना , लोसपाका ८ जना र नेकपा एसका ७ जनाको समर्थन पक्का रहेको दाबी गरेका छन् । उनले जनमत पार्टी पनि साथमा रहने विश्वास गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको सरकारबाट कुनै दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यादव नेतृत्वको सरकार अल्पमतमा परे पनि ३० दिन भने रहिरहने मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले बताएका छन् । अल्पमतमा परे पनि मुख्यमन्त्रीका लागि बहुमतसहित अन्य सभासदले दाबी नगरे सम्म कामचलाउन रहने उनले बताए । एमाले, माओवादी, जनमत र लोसपाका सभासदहरुले सार्वजनिक गरेको तस्बीर अनुसार एमालेको २४, जनमतको १३, माओवादीको ९ र लोसपाको ८ गरी ५४ जना हुन्छ । त्यो संख्या सरकार गठनका लागि बहुमत हो । तर एमाले र माओवादी गठबन्धनमा सहभागी हुने संकेत लोसपाले गरेको छैन ।

एमाले, माओवादी सहितको गठबन्धनमा मुख्यमन्त्री नपाए सरकारमा नजाने स्रोतले जनाएका छन् । एमाले र माओवादीले सरकारबाट हट्नुको प्रमुख कारण जसपा नेपालको संसदीय दललाई फुटाउन नै रहेको बताइन्छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार नढलेसम्म संसदीय दल विभाजित हुने अवस्थामा नरहेको नवगठित जसपाका नेताहरुको बुझाइ रहेको छ ।

स्रोतका अनुसार आइतबार जसपाका अध्यक्ष अशोक राई, प्रदीप यादव सहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरेपछि सरकारबाट समर्थन फिर्ता लिन प्रदेश संसदीय दलका नेताहरुलाई माओवादी र एमालेका अध्यक्षले निर्देशन दिएका थिए ।

सो बैठकमा सहभागी एकजना नेताका अनुसार जसपा नेपाललाई फुटाउन नेतृत्व गर्ने सभासदलाई मुख्यमन्त्री बनाइने सहमति भएको छ । मुख्यमन्त्रीका लागि जसपाले वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव र पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई गरेको ‘अफर’ अस्वीकार भइसकेको छ । यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा गरेलगत्तै जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । राज्यमन्त्रीसहित एमाले र माओवादीका ८ जना मन्त्रीले आइतबार राजीनामा दिएका थिए । उनीहरुले छाडेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेर मन्त्रिमण्डल पुनर्गठन गरेक छन् ।

Comment


Related News

Latest News

Trending News