अपडेट 
२०८१ जेष्ठ २, बुधबार ०७:२७

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको छ । २१७ बुँदे नीति तथा कार्यक्रममा मधेशलाई महत्व नदिएको देखिन्छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने, प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पानल क्षमता पूर्वाधारसहित स्रोत केन्द्र विकास गर्ने, तराई/मधेशका ३ लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सेवा विस्तार गरिने नीति लिएको छ ।

सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा लिफ्ट एवम् भूमिगत सिँचाइका लागि विद्युत् सुविधा उपलब्ध गराइने जनाएको छ । त्यस्तै हुलाकी राजमार्ग निर्माण तथा स्तरोन्नति, जयनगर– बर्दिवास रेलमार्गको बिजलपुरा– बर्दिवास खण्ड निर्माण कार्यलाई तीव्रता, तराई–मधेश क्षेत्रमा थोक वितरण प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न विस्तृत अध्ययन गर्नुका साथै डिप ट्युबवेल जडान गरी खानेपानी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

निर्वाचनको बेला मुलुक भित्रै रोजगारी सृजना गर्ने राजनीतिक दलहरुले घोषणा गरे पनि वैदेशिक रोजगारमा समेत जोड दिएको छ । सरकारले अन्य मुलुक संग श्रम नीति समेत पुनरावलोकन गर्ने जनाएको छ । त्यस्तै सरकारले काठमाण्डुको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइनेछ तर, मधेश प्रदेशका जनकपुरधाममा रहेका राम जानकी बहुउद्देश्यीय रंगशाला भने यस पटक पनि सरकारको नीति तथा कार्यक्रममा पर्न सकेको छैन् ।

सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने जनाएको छ । कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News