अपडेट 
२०८१ जेष्ठ २, बुधबार ०८:१७

कोलकाता आइसकेको कृषि सामग्री कम्पनीको २० हजार टन डिएपी मल नेपाल भित्र्नि अझै एक साता लाग्ने भएको छ । नेपालमा डिएपी मलको चरम अभाव छ ।

ठेकेदार आदित्य बिरला ग्लोबल ट्रेडिङ्ग (सिङ्गापुर) प्रालिले चीनबाट खरिद गरी ल्याएको डिएपी मल कोलकाता बन्दरगाहमा बैशाख २७ गते नै आइपुगेको छ । तर त्यहाँ जहाजबाट अनलोड तथा कम्पनीको बोरामा प्याकिङ्ग गरी नेपाल तर्फ मल पठाउन कम्तिमा थप एक साताको अवधि लाग्ने कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।

कार्यालयका सहायक प्रथम बलबहादुर शाहका अनुसार कन्साइन्मेन्ट नम्बर १ सय २० को उक्त मल कोलकाता बन्दरगाहमा कम्पनीको बोरामा प्याकिङ गरी नेपाल भित्रिन अझै कम्तीमा एक साता लाग्ने सम्भावना रहेको छ । ‘सामान्यतया कोलकाता बन्दरगाहमा पानी जहाजबाट मल अनलोड गरी प्याकिङ्ग गरी नेपाल ल्याउन एक साताको समय लाग्ने गरेको छ,’ उनले भने, ‘हामीले पनि त्यसै आधारमा अनुमान गरेका हौं, यस बीचमा कुनै बाधा अवरोध नआई लागे मल एक साताभित्रै नेपाल भित्रिन थाल्ने छ ।’

शाहले हाल कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जमा डिएपी १ हजार ९ सय ४८ टन, युरिया ११ हजार ६ सय ६२ टन र पोटास १ हजार ५ सय ३९ टन मौज्दात रहेको बताए । त्यसैगरी मधेश प्रदेशभरीका कम्पनी कार्यालयहरुमा गरी १९ हजार २ सय ७६ टन युरिया, २ हजार ३ सय ३६ टन डिएपि र २ हजार ७ सय ९० टन पोटास मल मौज्दात रहेको छ । हाल किसानलाई चैते बालीको लागि डिएपी मल आवश्यक नहरे पनि वर्षे बालीको धानको बिउँ छर्न, उखु तथा सुर्ती बालीमा छर्न डिएपीको आवश्यकता छ ।

चारपाते कृषि सहकारी संस्था बहुअरी वीरगञ्जका अध्यक्ष जीतेन्द्र यादवले हाल किसानले खोजेको बेलामा डिएपी मल नपाएको गुनासो गरे । ‘हामीले खोजेको बेला डिएपी सहजै पाएको छैनौं,’ उनले भने, ‘चैते धान बालीका लागि अब डिएपी आवश्यक छैन, तर बर्षे धान बालीको बिउँ छर्न, सुर्ती र उखु बालीका लागि भने डिएपीको चरम आवश्यकता रहेको छ ।’ कम्पनीको थप ७५ हजार मे.टन डिएपी पाइपलाइनमा रहेको छ । शाहका अनुसार भारतसंग ‘ जीटुजी’ प्रक्रियाबाट खरिद गरिएको २५ हजार टन डिएपी मल असारको पहिलो सातासम्म नेपाल भित्रिन थाल्ने सम्भावना छ ।

‘सम्भवतः भारतमा लोकसभाको निर्वाचन सकिए लगत्तै यो कन्साइन्मेन्टको मल नेपाल भित्र्नि थाल्ने छ,’ उनले भने, ‘आदित्य बिरला कम्पनीलेनै भारतबाट यो मल ल्याउने जिम्मेवारी पाएको छ ।’ यसका साथै ग्लोबल टेण्डरबाट भारतको इन्डियन पोटास लिमिटेड (आइपीएल) ले २ वटा कन्साइन्मेन्टमा ५० हजार टन डिएपि मल ल्याउने शाहले बताए । ‘२५/२५ हजार मे.टन डिएपी मल आपूर्तिको २ वटा ठेक्का आइपीएलले पाएको हो,’ उनले भने, ‘असार मसान्त सम्म यी दुबै कन्साइन्मेन्टको मल नेपाल भित्रिने सम्भावना छ ।’

यसरी निरन्तर ३ वटा कन्साइन्मेन्टमा गरी ७० हजार मे.टन डिएपी मल २ महिना भित्र भित्रिने भएकाले आउदो बर्षे धान बाली सिजनका लागि पर्याप्त डिएपि मल उपलब्ध हुने उनले दाबी गरे ।

Comment


Related News

Latest News

Trending News