अपडेट 
२०८१ जेष्ठ ३, बिहीबार ०७:११

मधेश प्रदेशका निवर्तमान गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले ज्येष्ठ नागरिकको सवालमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

जनकपुरधाममा बुधबार राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका नेतासमेत रहेका निवर्तमान मन्त्री लेखीले ज्येष्ठ नागरिकका लागि राज्यले निर्माण गरेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा राज्य जिम्मेवार बन्नुपर्ने बताए । ज्येष्ठ नागरिकको अधिकार सम्बन्धी निर्माण भएको ऐनको प्रभावकारिता तथा कार्यान्वयनको अवस्थाको विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐन कानुनको निर्माणले मात्रै ज्येष्ठ नागरिकको अधिकार प्राप्ति हुन नसक्ने हुँदा यसप्रति राज्यले कानुन कार्यान्वयनलाई प्रभावकारी ढंगले लाग्नु पर्ने बताए ।

उनले ज्येष्ठ नागरिकको अधिकारका लागि राज्यसंगसंगै परिवार र सन्तानहरु पनि जिम्मेवार बन्नु पर्ने बताए । देशमा तीन तहका सरकार रहे पनि उनीहरुले आफ्नो जिम्मेवारी नबुझेका कारण विभिन्न खालका समस्या आइराखेको उनले बताए । उनले भने–‘हामी सबै जिम्मेवार भएको खण्डमा ज्येष्ठ नागरिक प्रतिको सम्मान हुनुको साथ साथै समाजमा देखिएका विकृति समाप्त भएर जाने र देश समृद्धिको यात्रामा अगाडि बढ्नु पर्छ ।’

त्यस्तै सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले मान्छेले बाँचेर मात्रै नहुने भन्दै हरेक मान्छेले स्वतन्त्ररुपमा सम्मानपूर्वक बाच्न पाउनुपर्ने बताए । यसका लागि ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाच्नु पाउनुपर्ने उद्देश्यका साथ राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो कामकाजलाई अगाडि बढाएको उनले बताए ।

युएनएफपिएका प्रतिनिधि समीर घिमिरेले ज्येष्ठ नागरिकको लागि निमार्ण गरिएको ऐन कानुनको कार्यान्वयनको अवस्थाको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News