अपडेट 
२०८१ जेष्ठ ३, बिहीबार १०:२२

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ।  गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ।

एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको आशंकामा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ।

प्रधानमन्त्री फिकोको आधिकारिक फेसबुक पेजमा उनको अवस्थाबारे पोस्ट गरिएको टाइम्सले जनाएको छ। उक्त पोस्टका अनुसार फिकोलाई धेरै गोली लागेकाले उनको अवस्था गम्भीर छ।

गोलीका कारण फिकोको शरीरमा कति र कस्तो खालको असर परेको छ भन्ने तत्काल यकिन भइसकेको छैन। मध्य स्लोभाक सहर ह्यान्ड्लोभामा भएको यो आक्रमणबारे प्रहरीले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

स्लोभाक र अन्य युरोपेली अधिकारीहरूले यो घटनाबाट स्तब्ध भएको भन्दै निन्दा गरेका छन्।

स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि हमला हुनु भयानक र नीच काम भएको बताएकी छन्। उनले यो घटनालाई लोकतन्त्रमाथिको आक्रमण पनि भनेकी छन्।

गोली हानेको आशंकामा पक्राउ परेका व्यक्तिबारे भने उनले कुनै जानकारी दिएकी छैनन्। सम्भव भएसम्म थप जानकारी प्रहरीले दिने उनले बताएकी छन्।

Comment


Related News

Latest News

Trending News