अपडेट 
२०८१ जेष्ठ ४, शुक्रबार ०७:०५

जनता समाजवादी पार्टी(जसपा)नेपाल विभाजनबिरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारीगरेसँगै मधेश प्रदेशमा सभासदहरु एकजुट भएका छन् ।

मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बिहीबार बसेको दलको बैठकमा सभासदहरुले एकजुट भएर फुटको प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् ।

मधेश प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारलाई नयाँ समीकरण बनाएर बहुमत सिद्ध गर्नेमा सभासदहरुले जोड दिएका छन् ।

बैठकमा सहभागी सभासदहरुले प्रदेशमा संसदीय दल कुनै हालतमा विभाजित नहुने बताउँदै पार्टी फुटाउने षडयन्त्रकारीहरु विरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश सभामा जसपा नेपालको १९ जना सभासद रहेका छन् ।बैठकमा निवर्तमान मुख्यमन्त्री लालबाबु राउत बाहेक १८ जना सभासदको सहभागिता रहेको दलका प्रमुख सचेतक रामअशिष यादवले जनाएका छन् । प्रदेशको मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा सभासदहरुले संसदमा विश्वासको मत लिन शीर्ष तहमा सत्तासमीकरणको पहल गर्न आग्रह गर्ने धारणा व्यक्त गरेको प्रमुख सचेतक यादवले बताए । निवर्तमान मुख्यमन्त्री राउत संगठनको कार्यले काठमाण्डुमा रहेको बताइएको छ ।

दल विभाजनपछि राउतले क्षतिको भरपाइ गर्न लागिपरेका छन् । ‘गत हप्ता दलको बैठकमा सभासदहरुमा केही असन्तुष्टि र नोकझोक पनि भएको थियो’ यादवले भने, बिहीबार सौहाद्रपूर्ण वातावरणमा भएको बैठकमा एकढिक्का भएर सबै समस्याको फेस गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सभासदहरुले सरकारको आगामी नीति तथा कार्यक्रम र जनमुखी तथा प्रभावकारी बजेट ल्याउन मुख्यमन्त्री यादवलाई सुझाव दिएको बताइएको छ ।

दलको बैठकमा मधेश सरकारको नेतृत्वलाई निरन्तरता दिँदै सभासदहरुले प्रदेश सभाबाट विश्वासको मत लिनेमा जोड दिँदै सरकारका लागि रहेको ३० दिनको समयावधी भन्दा पनि अगावै बिश्वासको मत लिनेमा जोड दिएका छन् । पार्टीलाई संघीय सत्तासीन दलहरुले षडयन्त्रपूर्वक फुटाइएको ठहरगर्दै पार्टीको हकमा स्र्वोच्च अदालतको आदेशले निर्वाचन आयोगमाथि प्रश्न चिन्ह खडा गरेको छ ।

सर्वोच्च अदालतको आदेशलाई सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टि गर्न सम्पूर्ण शक्ति लगाउने र मधेश प्रदेशले साथ दिने बैठकले निर्णय गरेको प्रमुख सचेतक यादवले बताए । पार्टी फुटबाट विचलित नहुन शीर्ष नेताहरुलाई मनोबल उच्च बनाइराख्न मधेशका सबै सांसद एक ढिक्का भएर लाग्ने निर्णय भएको बताउँदै यादवले भने–‘पार्टी नेतृत्वलाई आत्मबल दिँदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय रुपमा लाग्ने निर्णय भएको छ ।’

पार्टी फुटलाई वैधानिकता प्रदान गरेको निर्वाचन आयोगकोविरुद्ध भण्डाफोर अभियान चलाउने जसपा नेपालको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । निष्कृय भइसकेको कानुनलाई टेकेर फुटेको पार्टीलाई वैधानिकता दिने निर्वाचन आयोगविरुद्ध देशव्यापी रुपमा अभियान चलाउने निर्णय गरिएको छ । नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाहरु लिखित रुपमा संसदीय दललाई सुझाव दिनुपर्ने र त्यसमा सबै सभासदहरुले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको प्रमुख सचेतक यादवले बताए ।

जेठ महिनाको २८ गतेदेखि ३० गते सम्म जनकपुरधाममा हुने एकताको प्रथम महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ आफनो तर्फबाट सहयोग र सक्रिय भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ । संसदीय दलको बैठकमा विशेष आमन्त्रितको रुपमा प्रदेश अध्यक्ष बालकिशोर यादवलाई पनि निम्त्याइएको थियो ।

जसपा नेपालको एकमात्र सभासद रहेको कोशी प्रदेशमा र तीनजा सभासद रहेको लुम्बिनी प्रदेशमा दुई जना सभासदले साथ छाडेका छन् । उनीहरु जसपा रोजेका हुन् । तर फुटको प्रभाव मधेश प्रदेश संसदीय दलमा नरहेको नेताहरुले दावी गरेका छन् । प्रदेश गठन भएदेखि मधेश प्रदेशमा जसपा नेपालको नेतृत्वमा सरकार चलिरहेको छ ।

Comment


Related News

Latest News

Trending News