अपडेट 
२०८१ जेष्ठ ४, शुक्रबार ०७:१४

माता जानकीको बैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा उत्पति भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ । सामन्यतः नवमीका दिनलाई जानकीको जन्म दिवस भन्ने गरेका कारण जानकीको नवमी तिथिमा जन्म भएको हो कि उत्पति , अवतार ,प्रादुर्भाव ,प्राकट्य जस्ता जिज्ञासा हुनुलाई स्वाभाविक नै मान्नु पर्दछ । कतिपयको राय जन्म त कोखमा हुने गर्दछ भने कतिपयको जानकी घर्तीको कोखमा जन्म, अवतार र धर्तीकै कोखमा लुप्त भएको तर्क छ । माता जानकीको सन्दर्भका गीतहरुमा जन्मोत्सव शब्दको प्रयोग पनि गरिएको पाइन्छ ।

कवि गोपेश्वर सिंहको गीतमा अवतार , प्रकट शब्दको प्रयोग दे्खिन्छ :

मिथिलेश सद्न अवतार लिये ,लषु आदिशक्ति निमिवंश चन्द्रिका , मनुज अमर मुनि अमर किये ,जय धुनि करत विविध कुसरमापति बरसावत सुरमुदित हिये………. मिथिलापुर मंगल लषु घरघर, मूल प्रकृति मिथिलेश सुता हे , भई प्रगट आनन्द चारचर , माधव धवल नवल ललित नवमी तिथि , लै समाज सँ जनक नृपतिवर , देत दान भूसुर अगनित घन , मनहुँ दान जल बही सुभगसर ।

हुन त जानकीको लौकिक प्रसंगमा पारम्मपरिक गीतको संख्या अधिक देखिए पनि जानकी सोहर न्यून देखिनु कनिपय प्रश्नलाई आमन्बण गर्दछ । छोरीको जन्मलाई जन्मोत्सवका रुपमा नमनाउनु पनि यसका कारण हुनसक्ने कतिपयको तर्क छ । त्रेता युगमा मिथिला राज्यमा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा जानकी ( सीता ) को उत्पति भएको वर्णन रामायण र पुराणहरुमा पाइन्छ । शब्द कोश अनुसार सीताको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब , जोतिएको जमीन , हलोको फालीबाट धर्तीमा निर्मित रेखा उल्लेख छ । जानकीको उत्पति पौराणिक तथा संस्कृतिमा विश्वासको धरोहर रुपमा रही आएको छ ।

जनकलाई नवमीका दिन कन्यारत्न प्राप्ति ,जानकी नामकरण तथा त्यसप्रति घटनाक्रमसँग सम्बद्ध वर्णन समृद्ध प्राचीन सभ्यताको परिचायक पनि रहेको छ । यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन सम्पूर्ण मिथिलाञ्चलमा ठाउँ–ठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । यस अवसरमा विशेष रूपमा जनकपुरधामको नौलखा मन्दिरमा बिहानैदेखि श्रद्धालुहरू पूजा–पाठ र बधाई गानका लागि उमङ्गित देखिन्छन् ।

बिहानै दुग्धमति नदीमा स्नान गरी जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु जीवनलाई कृत्य सम्झन्छन् । सो मन्दिरको गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि , सोहर (जन्मको वेला गाइने गीत ) , रामकथा , जानकी जन्मको विवेचन , बधाई गीत , छठि महोत्सव मनाइने चलन रहेको छ । जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उहाँप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन् , यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रगटीकरण देखिन्छन् । उहाँ महिलोचित गुणबाट परिपूर्ण भएकाले आज पनि मिथिलाञ्चलका महिलाहरू उहाँको पदचिन्हको अनुशरण गरेर आफूलाई धन्य ठान्दछन् । यही भावभूमि मिथिला क्षेत्रमा एउटा भनाइ छ –

गौरी सन भाग आओर सीता सन सोहाग ( गौरीको जस्तो भाग्य र सीता जस्तो सोभाग्य ) अर्थात् विवाहिता स्त्रीको भाग्य गौरी जस्तो र सौभाग्य जानकी जस्तो हुनु पर्दछ । विवाहित स्त्रीले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ । धार्मिक ग्रन्थहरूमा भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ ।

जानकीको व्रतले घरमा सुख , समृद्धि , अन्न र वैभव प्राप्ति ,धेर्य , विवेक , ज्ञान , ममता , समर्पण उत्पन्न हुने मान्यता रहेको छ । जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ । त्यसैले उहाँकै अनुकम्पाले मिथिलावासीहरू सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको सुरूदेखिनै व्यतीत गर्दे आएको विश्वास पाइन्छ ।जनक ,जानकी , मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ , त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ ।

संयम र विवेककी प्रतिमूर्ति मानिएकी जानकी भीमकाय शिव धनुलाई बालिका छँदै सजिलैसँग उठाउन सक्ने असाधारण क्षमता रहेकी वीरांगना पुष्टि हुन्छ । उहाँको मैथिली , सीता, जानकी र सिया पर्यायवाची नामहरू रहेका छन् । उहाँले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन् । अतः पण्डित सतानन्दले यसरी लेखेका छन् ः जानकी स्वयं वेदमाता , जानकी त्रिकोणात्मिका ,जानकी विन्दु रूपाच , सर्वविद्या समन्विता । अर्थात् जानकीमै सबै वेद ,शास्त्र पुराण रहेको छ र उहाँ मूल प्रकृतिरूपी महाशक्ति हुनुहुन्छ । किम्बन्ती अनुसार अनिकालबाट मूक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो । राष्ट्र कवि माधवप्रसाद घिमिरेले जानकीको जन्म वर्णन गर्दे यसरी लेखेका छन् :

जन्मिन यहाँ जानकी,मञ्जरी जस्तै धानकी, माण्डवी , कीर्ति , उर्मिलाबहिनी बाल चञ्चला, …………………… लावण्यमयी जानकी, गहुँ र गोरी जानकी, अर्पित भइन राममा, यही हो मेरो मिथिला, धरती शस्यश्यामला ।

शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा सी मा रहेको इकार प्रपञ्च बीज मानिएको छ , त्यहीनै माया र विद्या स्वरूप हो । स कार सत्यको नाम हो , यसैबाट अमृत प्राप्ति र सोम हुन् । माताको दोस्रो स्वरूप नारी हो , जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन् । उहाँलाई इच्छा , क्रिया ,सोम ,सूर्य र आगोको शक्ति पनि मानिएको छ ।

जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो । कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि मात गर्ने खालको थियो ,मर्यादा पुरूषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उहाँले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए । यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनुनै एउटा स्वर्गीय वरदानभन्दा कम होइन । त्यसैले मिथिलाको संस्कृतिमा उहाँको जीवन चरित्र वन्दनीय , स्मरणीय र पूजनीय रहेको छ । मानव जातिको इतिहासमा जानकीको नाम अत्यन्त उच्च छ । आदर्शपत्नी, आदर्शमाता , आदर्श भाउजु , आदर्श नारीका रुपमा जानकी राष्ट्रिय विभूति हुन् । पवित्रता ,चरित्रवानको दृष्टान्त हुन् ।उहाँको आदर्श, सच्चरित्रता , सतीत्व , नारीत्व , मातृत्वात्सल्य , करुणमयी व्यक्तित्व जगतजननीका रुपमा पूज्य छन् ।

जानकी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति पनि हुन् । विदुषी गार्गीको चुनौती स्वीकार गर्दे जानकीले गार्गीको प्रश्नहरुको दिएको जवाफले पनि उनको प्रखरतालाई स्पष्ट गर्दछ । पौराणिककालमा रामलाई पुरुषमा उत्तम भएका कारण पुरुषोत्तम भनिएको पाइन्छ भने जानकीलाई महिलामा सर्वोत्तमको संज्ञा दिइएको छ । बाल्मीकी रामायणमा उल्लेख एक प्रसंगमा वनगमन सन्दर्भमा राम सबैसँग अनुमति लिइ जानकीलाई घरैमा बसी सबैको सेवा गर्न भनेपछि जानकी व्यथित भइ भन्छिन–

न पिता नात्मजोवात्मा न माता न सखीजन, इह प्रेत्य च नारीणां पतिरेको गतिः सवा , यदि त्वं पास्थितो दुर्ग वनमधैव राधव, अग्रतस्ते गमिष्यामि मृदन्ती बुशकपटकान् ।

अर्थात् कुनै पनि स्त्रीका लागि लोक र परलोकमा एक मात्र पतिको अनुशरणलाई उत्तम भनिएको छ । पति नै पत्निको आश्रय हो । पति समक्ष स्त्री , मातापिता , पुत्रपुत्री , सखामित्र ,शरीरको कुनै अर्थ छैन । यदि आज तपाई वन प्रस्थान गर्दे हुनुहुन्छ भने मलाई पनि सँगै लगेमा म अगाडि हिंडदै तपाईको अगाडिका काँडा सफा गर्ने मौका पाउने गरेको आग्रह पनि जानकीको आदर्शलाई प्रस्ट गर्दछ । जानकीको जीवन शुरुदेखि अन्त्यसम्म संघर्षमै बितेको प्रसंग पाइन्छ ।

विवाहयोग्य भएपछि धनुष भंगको घोषणा र शर्त , विवाहित भएपछि केही दिनमे वनवासको प्रसंग , वनमा रावणद्वारा हरण ,अशोक वाटिकामा प्रताडना , लंका विजय पछि अग्नि परीक्षा ,लोकपवादका कारण पुनः वनवास , धर्ती प्रवेशको व्यथा क्षण पनि जानकीको अभिव्यक्ति व्यवहार धर्मपरायण आदर्श नारीका रुपमा मार्गदर्शन हुन्छ । जन्म , प्राकट्य , प्रादुर्भाव , उत्पति जस्ता शब्दले उनीप्रतिको श्रद्धा , जगतजननीका रुपमा पूजा अर्चनासँगै मातृशक्तिलाई नै उजागर गर्दछ ।

हुनत पुनौराधामको मन्दिरमा पनि प्राकट्य उल्लेख छैन । एउटा ग्रन्थमा भूगर्भ जगज्जनन्या जत्यक्या प्रादुर्भााव उल्लेखले जानकीप्रतिको अनुराग छर्लंग हुन्छ । यी तथ्यहरुप्रति गहन शोध,अन्वेषणको खाँचो छ ।

Comment


Related News

Latest News

Trending News