अपडेट 
२०८१ जेष्ठ ४, शुक्रबार ०७:४२

तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । पानी पर्ने क्रम कम भएपछि फेरि गर्मी बढेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ । केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ ।

महाशाखाले तराई क्षेत्रमा अबको केही दिन तातो हावाको लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो हावा अर्थात् ‘लू’ का कारण सास फेर्न गाह्रो हुने, आलस्य बढ्ने, आँखाको समस्यालगायत हुन सक्छ ।

गर्मीको समयमा घरभित्र अथवा चिसो ठाउँमा बस्न, घाममा ननिस्कन, हल्का, पातला लुगा लगाउन, टाउको छोप्न, झोलिला पदार्थ पानी, जुस, सर्वत प्रशस्त पिउन र स्वास्थ्यमा समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।

यसैबीच आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News