
राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिले माओवादीको नक्कलमा लागेको छ ।
बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको अभियानले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा समेत गर्न लागेको छ । माओवादीले पनि राज्यहरुको घोषणा गर्दै अगाडि बढेका अनुसारनै राष्ट्रिय मुक्ति क्रान्तिले राज्यहरुको घोषणा गर्न लागेको छ ।
अभियानले असार ४ गते नेवाः राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाका अनुसार त्यस्तो राष्ट्र निर्माणको दाबी नेवाः राज्यबाट सुरु गर्ने र त्यसपछि अन्य राष्ट्रहरूको पनि घोषणा हुने जानकारी दिए । अभियानले नेवाः राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी हाल १२ वटा परिषद् गठन गरेको छ । यस्ता ५० वटा परिषद् बनाउने तयारी रहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता झाले बताए ।
परिषद्हरू सबैले आ– आफ्नो सत्ता आफै सञ्चालन गर्नेछन् । तिनीहरूका आफ्नै विधान र संरचना हुनेछन् । ‘देशमा हरेक समुदायको आ– आफ्नो राष्ट्रियता र पहिचान छन् । ती पहिचानको आधारमा स्वशासन हुनुपर्ने माग राखिनेछ,’ नेता झाले भने, ‘त्यसको आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै पहिरनलगायत हरेक चिन आफ्नै हुन्छ ।’ ‘अहिले देशमा गणतन्त्र भए पनि एक भाषा, एक नीति नै लादिएको छ । त्यसको हामी विरोध गर्छौँ । जसको राष्ट्रियता हुन्छ, त्यसले नै त्यहाँ शासन गर्नुपर्ने माग हुन्छ,’ उनले थपे, ‘असार ४ गतेदेखि त्यसको अभ्यास सुरु हुनेछ, नेवाः राष्ट्रको औपनिवेशिक सत्ता दाबी तथा स्वशासन विधान घोषणा कार्यक्रम हुन्छ ।’ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शनिबार पत्रकार सम्मेलन गरेर देशैभर विभिन्न कार्यक्रम गर्ने भनी घोषणा गरेका छन् ।
मुक्ति क्रान्तिले पहिलो चरणमा काठमाण्डुमा गत फागुन १४ र १५ गते अगुवा कार्यकर्ता भेला र दोस्रो चरणमा १६ गते माइतीघरको निषेधाज्ञा तोड्न माग गर्दै प्रदर्शन गरेको थियो ।
पार्टीको गभर्निङ काउन्सिलको जेठ १ देखि ३ सम्म भएको बैठक र मधेश थरुहटका नेताहरुसँगको छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक महतोले जानकारी दिए । जेठ ६ मा सुरु हुने दोस्रो चरणका कार्यक्रममा जेठ ११ सम्म प्रशिक्षण अन्तरक्रियाका कार्यक्रमहरु राखिएका छन् । त्यसपछि भने आमसभा र प्रदर्शनीका कार्यक्रमहरु राखिएका छन् ।
जेठ १२ मा पाँचथरको फेदेनमा आमसभा राखेको मुक्ति क्रान्तिले जेठ १६ मा सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा ककनीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । त्यस्तै जेठ १७ मा भोजपुरमा र जेठ १९ मा धरानमा आमसभा राखेको छ । महतोले जेठ २१ मा दाङको घोराही र जेठ २४ मा काठमाण्डुको इटुम्बहालमा आमसभा राखेको जानकारी दिएका छन् ।
जेठ २६ मा विराटनगरमा कोशी नामकरणको विरोधमा प्रदर्शन, जेठ २९ मा ढोरपाटन शिकार आरक्षविरुद्ध प्रदर्शन, असार १ मा सर्लाहीको लालबन्दीमा मधेशी पहाडी एकता प्रदर्शनी र असार ४ मा काठमाण्डुको माइतीघरबाट स्वशासन विधान घोषणा राखिएको संयोजक महतोले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।