अपडेट 
२०८१ जेष्ठ ६, आईतवार ०६:५७

जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर बनेको जसपाका सचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव बारा पर्सामा जसपा नेपाललाई फुटाउन सक्रिय भएका छन् ।

स्वास्थ्यमन्त्री बनेपछि पहिलो पटक गृह नगर वीरगञ्ज पुगेका मन्त्री यादवले बारा पर्सामा जसपा नेपालमा आवद्ध रहेका नेता कार्यकर्ताहरुलाई विभिन्न प्रलोभनमा पारेर जसपामा ल्याउने कसरत गरिरहेका छन् ।

जसपा नेपालका नेता कार्यकर्ताका अनुसार वीरगञ्जमा एक कार्यक्रममा सहभागी हुन आएका मन्त्री यादव आउने वितिकै वडा स्तरदेखि विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुलाई फोन गरी बोलाएर जसपामा आउन आग्रह गरेका छन् । उनी जुन रुपमा सक्रियता बढाएका छन् त्यसले जसपा नेपाललाई नोक्सानी हुनसक्छ तर, जसपा नेपालका नेता कार्यकर्ताहरु पार्टीप्रति प्रतिबद्ध रहेका कारण उनको प्रयास असफल हुने उनीहरु दाबी गर्छन् ।

जसपाका सचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव बारा पर्सामा सक्रिय भए लगतै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पनि अहिले बारा पर्साकै नेता कार्यकर्ताहरु माझ रहेका छन् । उनी पार्टीका एक क्रियाशील सदस्यहरुलाई पनि अन्य पार्टीमा नजान दिन लागि परेका छन् । पार्टीको एकताको महाधिवेशन जेठ २८, २९ र ३० गते जनकपुरधाममा गर्ने तयारी स्वरुप उनी आफ्नो जिल्लामा आएको स्रोतको दाबी छ ।

जसपा नेपाल विभाजित भए पछि नेकपा एमाले र माओवादी केन्द्रले मधेश प्रदेशलाई दिएको समर्थन फिर्ता लिएपछि मधेशमा जसपा नेपालकै नेतृत्वमा सरकार यथावत राख्नसमेत मुख्यमन्त्री सक्रिय छन् । उनी बारा पर्साका प्रदेश सभासदस्यहरुसंग निरन्तर छलफलमा छन् भने पार्टीका नेता कार्यकर्तालाई हतोत्साहित नहुन र पार्टीप्रति प्रतिबद्ध हुन आग्रह गरेको स्रोतको दाबी छ ।

मधेश प्रदेशमा सिरहा र सप्तरीमा रेणु यादव तथा बारा पर्सामा प्रदीप यादव जसपा नेपालका आफ्ना निकटका नेता कार्यकर्ताहरुलाई रिझाउने प्रयासमा लागेका छन् ।

Comment


Related News

Latest News

Trending News