अपडेट 
२०८१ जेष्ठ ६, आईतवार १९:५०

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको फैसला नआउन्जेल जसपाबाट अलग्गिएका ७ जना सांसदलाई विश्वासको मत दिने प्रक्रियामा सामेल नगराउन सभामुखलाई पत्र पठाएका छन्।

आइतबार संसद् सचिवालयमा दर्ता भएको पत्रमा प्रधानमन्त्रीले लिने विश्वासको मत र प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भन्दै जसपा नेपालले सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको हो।

जसपा नेपालबाट छुट्टिएको दल दर्ता कानुन विपरीत रहेको र त्यसमाथि सर्वोच्च अदालतमा दायर मुद्दामा सर्वोच्चले ‘निर्वाचन आयोगले गत वैशाख २४ गतेको बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकारबाहीलाई जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितिमा राख्न’ आदेश जारी भएको उल्लेख गरेका छन् ।

जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले नयाँ पार्टी गठन र त्यसका कामकारबाहीका अवस्था यथास्थितिमा राख्न आदेश गरेको थियो। यही आदेशमा टेकेर जसपा नेपालले सभामुखलाई पत्र लेखेको छ।

जसपा नेपालले आइतबार नयाँ पार्टीमा गएका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न अर्को रिट सर्वोच्चमा दर्ता गरेको छ।

अशोककुमार राईलगायत ७ सांसदले जसपा नेपाल छोडेर जसपा गठन गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि, सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ।

Comment


Related News

Latest News

Trending News