अपडेट 
२०८१ जेष्ठ ७, सोमबार ०६:३४

धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ । जनकपुरधामबाट भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ स्रेस्ता लगायतका आवश्यक कागजात ढल्केबर ल्याएपछि यहाँका कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ ।

ढल्केबरमा छ महिना अगाडि मालपोत कार्यालयको स्थापना भएको भए पनि भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामले आवश्यक कागजात उपलब्ध नगराउँदा यहाँको कार्यालय सञ्चालनमा आउने नआउने विषयमा अन्योलता बढेको थियो । मालपोत कार्यालय ढल्केबरका प्रमुख अर्जुनकुमार मण्डलले भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामले मोठ स्रेस्तालगायतका आवश्यक कागजात आइतबार उपलब्ध गराएको जानकारी दिएका छन् ।

आवश्यक कागजात उपलब्ध भएपछि यहाँको कार्यालय सञ्चालनमा आउने निश्चित भएको उनले बताए । कार्यालय प्रमुख मण्डलले कागजातहरू आइपुगेको बताउँदै सम्भवतः आगामी साताबाट सेवा सुचारु गर्ने बताए । उनले भने–‘कागजातहरू व्यवस्थित गर्दैछौं । सम्भवतः एक साताको समय लाग्छ त्यतिजेञ्लसम्म सेवा बन्द रहन्छ ।

सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गर्छौँ ।’ उनका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साबिकका गाविसहरू ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ स्रेस्ताहरू ल्याइएको छ ।

२०७२ असोज १४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७३ माघमा यहाँ नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुन सकेको थिएन । सोही कारण नापी कार्यालय स्थापना भएको सात वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुनसकेको थिएन ।

करिब छ महिनाअघि ढल्केबरमा मालपोत कार्यालयको स्थापना भएसँगै सञ्चालनमा ल्याउनका लागि प्रयास सुरु भएको थियो ।

Comment


Related News

Latest News

Trending News