अपडेट 
२०८१ जेष्ठ ७, सोमबार ०६:३७

एक महिना नबित्दै दुई पत्रकारको एकै प्रकृतिको मृत्यु रहस्यमयी ढंगले भएको भन्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षकलाई ज्ञापन पत्र बुझाएका छन् ।

जनकपुरधाममा आइतबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णको अगुवाईमा रहेको टोलीले एक महिना नबित्दै धनुषामा दुईजना युवा पत्रकारको सडक दुर्घटनाबाट रहस्य मृत्यु भएकाले छानबिनका लागि माग गर्दै प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।

२०८१ वैशाख ११ गते जनकपुरधाम–ढल्केवर सडकस्थित राजमार्गमा युवा पत्रकार विनय यादवको सडक दुर्घटनामा मृत्यु भएको थियो भने एक महिना नबित्दै २०८१ जेठ ५ मा अर्का युवा पत्रकार शिवेन्द्र रोहिताको पनि सडक दुर्घटनाकै क्रममा मृत्यु भएको छ । सडक दुर्घटनाको स्थान फरक फरक भए पनि दुर्घटनाको समय एकाविहान रहेको र विनय यादवको दुर्घटनाबाट मृत्यु नभइ हत्या भएको देखिएपछि किटानी जाहेरीसमेत दर्ता भएको अवस्थामै पत्रकार शिवेन्द्र रोहिताले चलाएको मोटरसाइकललाई कारले ठक्कर दिएपछि पत्रकार रोहिता घाइते नै थिए तर पुनः सो गाडीले ब्याक गरी रोहितालाई कुल्चेर हत्या भएको भन्ने कुरा आए पछि प्रहरीलाई गम्भीर भएर छानबिन गर्न आग्रह गरेको अध्यक्ष कर्णले भने । अध्यक्ष कर्णले भने–‘गाडी दुर्घटनाबाट एक महिनामै दुईजना पत्रकारको मृत्यु हुनु संयोग नभइ नियोजित षड्यन्त्र भएको देखिन्छ । त्यसैले दुबै दुर्घटनाको बारेमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले पत्रकारको सवारी दुर्घटनाबाट मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने माग गर्दै आए पनि स्थानीय प्रहरी प्रशासनको मौनता र निष्कृयता रहस्यमय देखिएकाले यथाशीघ्र छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको बताए । एक सता भित्र छानबिन प्रक्रिया अगाडि नबढाए आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

यता प्रहरी नायब महानिरिक्षक पाखरेलले पत्रकारको मृत्युको विषयमा आफूहरु गम्भीर रहेको बताउँदै तत्काल छानबिन प्रक्रिया अघि बढाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चार क्षेत्रमा कार्यगर्नु आफैमा चुनौतीपूर्ण रहेको बताउँदै आगामी दिनमा सचेत भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरे ।

ज्ञापन पत्र बुझाउन मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम यादव, मधेश प्रदेश समितिका सदस्यहरु हदिश खुद्दार, सन्तोष सिंह कुशवाहा, नवीन प्रियदर्शी, सञ्जय राउत, प्रेस मञ्चका केन्द्रीय सदस्य संजीवकुमार झा, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण लगायतका पत्रकारहरु पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News