अपडेट 
२०८१ जेष्ठ ७, सोमबार ०६:४३

त्रिभुवन विश्वविद्यालयको आंगिक रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र स्ववियु सभापतिको संलग्नतामा खुलेआमरुपमा सेटिंगमा उत्तीर्ण गराउने काम हुँदासमेत सरोकारवालाले बेवास्ता गरेको आरोप लगाउँदै विद्यार्थीहरुले विरोध गरेका छन् ।

जनकपुरधाममा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै राराब क्याम्पसका क्याम्पस प्रमुख प्रदीपकुमार प्रसाद र स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिषकुमार यादवको मिलेमतो र स्ववियु सदस्य दीपेन्द्रकुमार राउतको संलग्नतामा सेटिंगमा चोरी गराउने र परीक्षार्थीको उपस्थिति विना नै उत्तीर्ण गराउने ठेक्का लिनेसहितका कामहरु उदांगिएको लोकतान्त्रिक विद्यार्थी संघ धनुषाका नेता अजय कुमार पण्डितले आरोप लगाए । उनले भने–‘राराब क्याम्पसका क्याम्पस प्रमुख प्रदीपकुमार प्रसाद र स्ववियू सभापति मनिष कुमार यादवको मिलेमतोमा एक स्कुलको प्रत्यक्ष उपस्थितिमा परीक्षाहलमा विद्यार्थीहरुको परीक्षा कपी स्ववियु सदस्य दीपेन्द्रकुमार राउतको संलग्नतामा हाजिरी र कपी सिफ्ट गरेको फेला परेको छ । सोको फोटो र भिडियोसमेत पहिचान पनि भयो ।

क्याम्पस प्रमुखलाई समेत सो कुरा प्रमाणसहित गुनासो गर्दा बेवास्ता गरेपछि हामीले स्ववियुमा तालाबन्दीसमेत गरेका थियौँ, त्यसपछि भएको वार्ताबाट सोको सम्बन्धमा छानबिन गरी स्ववियु सदस्य दीपेन्द्रकुमार राउतलाई कारबाही गर्ने सहमति विपरीतको कार्य स्ववियु सभापति यादवबाट भएपछि बाध्यतावश पत्रकार सम्मेलन आयोजना गर्नु परेको छ ।’ उनले अघि थप्दै भने–‘हामी राराब क्याम्पसलाई हाम्रो क्याम्पस, राम्रो क्याम्पस बनाउने अभियान जारी राखेका छौं, यसका लागि हामी सदैव सक्रियसमेत रहने छौं ।’ सो पत्रकार सम्मेलनमा रहेका विद्यार्थी नेताहरुले राराब क्याम्पसस्थित परीक्षा केन्द्रमा अनुपस्थित रहेका परीक्षार्थीहरुसमेत सेटिंगको भरमा मोटो रकमको चलखेलका कारण केही विद्यार्थीहरुलाई पहुँचकै आधारमा उत्तीर्ण भएको मार्कसिट र सर्टिफिकेट उपलब्ध हुने गरेको बताए ।

सो पत्रकार सम्मेलनमा समाजवादी विद्यार्थी संघबाट स्ववियुका प्रत्यासी उम्मेदवार गौतम यादवलगायतकाहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News