अपडेट 
२०८१ जेष्ठ ८, मंगलवार १८:४९

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो ।

उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ ।

दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका थिए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।

तर सिरोहियाले त्यसबेला नै उक्त उजुरीको खण्डन गरेर आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए ।

उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट मंगलबार अनुमति लिएको हो ।

सिरोहियाले हिमालय रि-इन्स्योरेन्स कम्पनीको शेयर लगन लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहितको कागजमा नागरिकता नम्बर २८३९८८८६ रहेको थियो ।

तर उनैले २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर ३९६९८८८६  थियो । जसको पहिलो प्रतिलिपि २०५७ सालमा निकालिएको थियो ।

सिरोहियाले लिएको नम्बरसहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामावलीमा भेटिएको थियो ।

नागरिकता नम्बर टाइप गर्ने बेला गल्ती भएको मान्ने हो भने अर्को नम्बरको प्रश्न उठाइएको छ । कैलाश सिरोहियाले २०३३/३४ मा धनुषा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको नम्बर ३९६९८८८६ रहेको देखिन्छ । उनले उक्त नागरिकताको पहिलो प्रतिलिपि २०५७ मा बनाएका थिए ।

जुन नागरिकता नम्बर सिरोहियाको छ, त्यही नम्बरको नागरिकता धनुषा जिल्ला प्रशासन कार्यालयबाटै शिवजी साहु तेलीका नाममा जारी भएको देखिन्छ । दुवै जनाको मतदाता नामावलीमा उल्लेखित नागरिकता नम्बर पनि एउटै रहेको देखिएपछि छानबिन अघि बढेको थियो ।

Comment


Related News

Latest News

Trending News