अपडेट 
२०८१ जेष्ठ ९, बुधबार ०७:५७

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ ।

महानगर प्रमुख सिंह र गृहमन्त्री रवि लामिछानेको विरोधमा निकालिएको मसाल जुलुसमा सिंहका समर्थकले कुटपिट गरेपछि पर्सा कांग्रेसले किर्ते नागरिकता प्रकरणमा छानबिनको मागसहित कुटपिटमा संलग्न रहेकालाई कानुनी दायरामा ल्याउन दबाब दिएको छ । कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ–‘शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने संवैधानिक व्यवस्था छ, तर यही अधिकारको बर्खिलाप माइस्थान चोकमा गतिविधि प्रदर्शन भएको देखिन्छ ।’ जेठ ४ गते वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहविरुद्ध दर्ता मुद्दा र सहकारी ठगीमा छानबिन समिति गठनको माग गर्दै नेविसंघले शान्तिपूर्ण प्रदर्शन गरेको थियो । सोही क्रममा महानगर प्रमुख सिंहबाट परिचालित अराजक व्यक्तिहरूले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस पर्साले मंगलबार बिहान महानगर प्रमुख सिंहविरुद्ध कारबाहीको मागसहित जुलुस प्रदर्शन गरेको थियो । माइस्थानबाट निकालिएको जुलुस महावीरस्थान आदर्शनगर, घडिअर्वा, घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले कांग्रेसले उठाएको माग सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

महानगर प्रमुख सिंह समर्थकहरूले गरेको आक्रमणबाट कांग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला अध्यक्ष रमेश यादव, उपाध्यक्षद्वय राहुल पटेल र बरकात अली, महम्मद नौसाद अली र जिल्ला सदस्य रामनिवास घाइते भएको कांग्रेस पर्साले जानकारी दिएको छ । फर्जी विवरणको आधारमा अरुको छोरीलाई आफ्नो छोरी बनाइ महानगर प्रमुख सिंहले नागरिकता दिलाएको भन्दै कारबाहीको मागसहित वीरगञ्जमा प्रदर्शन हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News