अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार ०७:३९

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको छ । नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाण्डुबाट पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन म्याद थप अनुमतिको आदेश दिएको छ ।

धनुषा प्रहरीले अध्यक्ष सिरोहियालाई दस दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय माग गरेको थियो । तर सरकारी वकिलले भने पाँच दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेका थिए । अदालतले म्याद थप गरेसँगै सिरोहियाको वयान लिने क्रम जिल्ला प्रहरी कार्यालय धनुषामा सुरु भएको छ । नागरिकताको प्रारम्भिक अनुसन्धान गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिरोहियाको नागरिकता प्रकरणमा संलग्न गराइएको छैन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताबाट सिरोहियाको नागरिकताविरुद्ध उजुरी हाल्न लगाएर गृहमन्त्री लामिछानेले प्रतिशोध साध्ने काम गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । अध्यक्ष सिरोहियालाई मंगलबार काठमाण्डुको थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालयमा कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेर धनुषा ल्याएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्नका लागि कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जन्मदर्ता, नागरिकता र पासपोर्ट समेत किर्ते बनाएर एकजना किशोरीलाई विदेश पठाएकोविरुद्ध ८ महिनादेखि निरन्तर आन्दोलन हुँदा पनि कारबाही थालिएको छैन् । त्यसमा ठूलो रकमको चलखेल भएको आरोप गृहमन्त्री लामिछानेमाथि लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले पटक–पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमै समेत धम्क्याएका थिए ।

नागरिकता कीर्तेको उजुरी परेपछि प्रहरीको आग्रहमा धनुषा जिल्ला अदालतले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । आयोगले नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको छ भने धारा १७ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लेख गरिएको स्मरणसमेत गराएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले देशको अग्रणी सञ्चारगृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा पक्राउ गरी सरकारले नंग्नताको हद नाघेको बताएका छन् । झण्डै सय वर्षदेखि जनकपुरधाममा बसोबासगर्दै विभिन्न व्यवसाय र समाजसेवामा समर्पित सिरोहिया परिवारको नागरिकतामाथि प्रश्न उठाउने स्वयं नागरिकता प्रकरणको अपराधी रहेको आरोप लगाएका छन् ।

सिरोहियाको तत्काल रिहाईको मागगर्दै यादवले सरकारको पूर्वाग्राही कारवाहीविरुद्ध आन्दोलन गर्ने जनाएका छन् ।

यता नेपाली कांग्रेस धनुषा, तराइ मधेश लोकतान्त्रिक पार्टीलगायतले सिरोहिया पक्राउ गरेको विरोधमा सरकारको कडा आलोचना गर्दै निन्दा गरेको छ ।

Comment


Related News

Latest News

Trending News