अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार ०७:४९

धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोर बाटोहरु बन्द गरेका छन् । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने चोर बाटोहरु जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले कडाइ गरेपछि रातिको समयमा लुकाएर नदीजन्य पदार्थको दोहन गर्न थालेपछि त्यसलाई पूर्णरुपमा बन्द गर्न चोर बाटोहरु बन्द गर्नुपरेको बताए । उनले मिथिला नगरपालिकाको सहयोग तथा समन्वयमा नगर क्षेत्रभित्र पर्ने औरही, जलाद र बडहरी खोलाको चोर बाटोहरु दुई दिन लगाएर बन्द गरिएको जानकारी दिए । अवैध नदी उत्खनन रोकथाम गर्ने क्रममा चालू आर्थिक वर्षमा ट्याक्टर, टिपर गरी २ सय ५० भन्दा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बताउँदै उनले अवैध उत्खनन कार्य रोक्न प्रहरी सक्रिय रहेको बताए ।

यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले क्षीरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकाको विभिन्न नदीनालाबाट भइरहेको अवैध उत्खनन बन्द गर्न चोर बाटो बन्द गरेको समेत जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनुकुमार साहले आफ्नो इलाका क्षेत्रभित्र पर्ने नदीनालाबाट भइरहेको नदीजन्य पदार्थको दोहन रोक्न दर्जनौं चोर बाटो बन्द गरेको जानकारी दिए । धरपकड गरेर जरिवाना तिराए पनि अवैध दोहन बन्द नभएपछि यो उपाय अपनाएको प्रहरी निरीक्षक साहको भनाइ छ ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले आन्तरिक समस्याका कारण यस वर्ष खोला ठेक्कामा लाग्न नसकेको भए पनि अवैध उत्खनन भइरहेकाले प्रहरीको सहयोगमा सो बाटोहरु बन्द गर्न लगाएको बताए । उनले स्थानीय तहमा दर्ता नभएको, नवीकरण नगरेको र राजस्वसमेत नबुझाएका क्रसर उद्योग बन्द गराएको जानकारी दिए ।

पछिल्लो केही वर्षयता धनुषाको उत्तरी क्षेत्रमा पर्ने जलाद, औरही, बडहरी, रातु र कमला नदीबाट हुने हुने गरेको गिट्टी, बालुवाको दोहन रोकथाम गर्न स्थानीय तह र प्रहरी प्रशासनका लागि चुनौती बनेको छ । खोला किनारमा रहेको क्रसर उद्योगी तथा गाउँका केही व्यक्तिले राति–राति जेसीबी, टिपर र ट्याक्टरको प्रयोग गरेर बालुवा, गिट्टीको उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News