अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार ०७:५३

राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहे पनि कच्चा पदार्थ आयातमा समस्या देखिएको जनाएको छ ।

करिब एक दर्जन मेसिनबाट परीक्षण उत्पादन गरेसँगै केन्द्रले कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहेको जनाएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल उच्च हुँदा उत्पादन लागत बढ्ने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लिखित निवेदन दिएका छन् । फलामजन्य उद्योगका लागि पाता, पाइप लगायतका कच्चा पदार्थ आवश्यक पर्दछ ।

यस्ता वस्तुको भन्सार महसुल १५ देखि ३० प्रतिशतसम्म छ । सरकारले केही कृषिजन्य औजारको भन्सार महसुल छुट गरेको छ र कृषि औजार बनाउन आवश्यक कच्चा पदार्थमा भने चर्को भन्सार महसुल लगाएको छ । ‘परीक्षण उत्पादनका लागि अहिले हामीले लोकल बजारबाटै कच्चा पदार्थ लिएका छौँ, तर अब व्यावसायिक उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट हुनुप¥यो भन्ने हाम्रो माग हो,’ वीरगञ्ज कृषि औजार कारखानाका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले भने ।

यसबारे आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको तर सरकारको तर्फबाट कुनै ठोस निर्णय नआएको सिनियर मेकानिकल इन्जिनियर देवको भनाइ छ । वीरगञ्ज कृषि औजार कारखानाले केराको थामबाट फाइबर निकाल्ने मेसिन, धान काट्ने मेसिन, आलु गोड्ने, आलु रोप्ने मेसिन, घाँस तथा पराल काट्ने मेसिन, खाल्टो खन्ने औजार, घाँस खुर्किने र ड्याङ्ग बनाउने मेसिन, बिउ रोप्ने मेसिन, आधुनिक कोदालोको परीक्षण उत्पादन गरिसकेको छ ।

कृषि औजार कारखानाका अर्का मेकानिकल इन्जिनियर अरुण साहले परीक्षण सफल भएका एक दर्जन मेसिन उत्पादन गरेर बजारमा पु¥याउन कारखाना तयारी अवस्थामा रहेको जनाए । पछिल्लो समय कारखाना सञ्चालनका लागि ५ सय केभीको ट्रान्सफर्मर लाइन जडान भएर आन्तरिक विद्युतीकरणको काम सुरु भएको छ । ५ सय केभीको ट्रान्सफर्मर जडानका लागि नेपाल विद्युत् प्राधिकरणले कारखानालाई २० लाख रुपैयाँ अनुदानस्वरुप दिएको छ भने १० लाख रुपैयाँ आविष्कार केन्द्रले लगानी गरेको छ ।

मेकानिकल इन्जिनियर साहले कृषि औजार कारखानामा व्यावसायिक उत्पादनको लागि कच्चा पदार्थ आयातमा समस्या भएको बताए । ‘अहिलेसम्म हामीले लोकल बजार (वीरगञ्ज) बाटै पाता, फलामको सिटहरू ल्याएर काम गरिरहेका छौँ भने केही बेरिङ्ग काठमाण्डुबाट मगाएका छौँ । तर भारतबाट आयात गरेका छैनौँ,’ इन्जिनियर स ाहले भने । पहिला कृषि औजारमा केन्द्रित भए पनि अहिले आफूहरू कृषि मेसिनहरूको व्यावसायिक उत्पादनमा केन्द्रित रहेको उनको भनाइ छ ।

कृषि औजार कारखाना सञ्चालनका लागि पछिल्लो समय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक प्रकाशन गरेर बिक्री गरेका छन् । हालसम्म ९० हजारभन्दा बढी पुस्तक बिक्री गरेर करिब ५ करोड रकम सङ्कलन गरिसकेको जनाइएको छ । २०५९ सालदेखि बन्द रहेको कारखाना महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहलमा सञ्चालनमा आएको छ ।

गत वर्ष असोज ११ गते अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच भएको सम्झौतामा कारखाना सञ्चालनका लागि पहिलो चरणको मर्मतसम्भार र सञ्चालन खर्च सरकारले बेहोर्ने भनिए पनि सरकारले अनुदानमा कारखाना सञ्चालनमा खर्च नदिएपछि आविष्कार केन्द्रले पुस्तक बिक्री गरेको रकमबाट कारखाना सञ्चालनको तयारी गरेको छ । तत्कालीन सरकार र सोभियत सङ्घ (रुस) सरकारको संयुक्त लगानीमा निर्माण भएको सो कारखाना २०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको थियो ।

बन्द भएको करिब ३ दशकपछि आविष्कार केन्द्रले कारखानाभित्र रहेका ६० वर्ष पुराना मेसिन मर्मतसम्भार गरेर गत वर्षदेखि परीक्षण उत्पादन सुरु गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले मेसिनहरूको व्यावसायिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट नदिए उत्पादन लागत बढेर बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए । ‘चर्को भन्सार महसुल तिरेर कच्चा पदार्थ आयात गरेर सामान उत्पादन गर्दा लागत बढी पर्ने भएकाले प्रतिस्पर्धा गर्न सकिन्छ÷सकिँदैन भन्ने समस्या छ,’ पुनले भने । भन्सार महसुल छुट दिनुप¥यो भन्ने माग आफूहरूको मात्र नभएर अधिकांश फलामजन्य उद्योगको माग रहेको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News