अपडेट 
२०८१ जेष्ठ ११, शुक्रबार ०७:२१

जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेंटन नेता, समाजसेवी, पेशाकर्मीहरुको भीड लाग्न थालेको छ ।

सिरोहियालाई प्रतिशोध साध्न प्रहरी हिरासतमा राखिएको आरोप लगाउँदै नेताहरुले तत्काल रिहाइ गर्न माग गरेका छन् । नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सिरोहियालाई भेंटन बिहीबार काठमाण्डुबाट जनकपुरधाम आएका छन् ।

जनकपुरधाम मिल्सएरियामा सिरोहियाका आमनेसामनेको छिमेकी रहेका नेता निधिले उनीमाथि नागरिकता किर्ते गरेको आरोप लगाउनु नै अपराध रहेको बताए । ‘सय वर्ष भन्दा बढी समयदेखि नै जनकपुरधाममा बसोबास गरेका सिरोहिया परिवारमाथि नागरिकताको प्रश्न उठाउनु दूर्भाग्यपूर्ण हो’ उनले भने, राज्यसत्ताको यस भन्दा ठूलो दुरुपयोग अरु के हुन सक्छ ? मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेशीलाई तर्साउने हतियार नै राज्यले नागरिकतालाई बनाएको बताउँदै देशकै अग्रणी सञ्चार गृहका अध्यक्षलाई कार्यकक्षबाट प्रहरीले पक्राउ गर्नु राज्य आतंक भएको बताएका छन् । तत्काल रिहाईको मागगर्दै लोकतान्त्रिक व्यवस्थालाई सबल बनाउने प्रमुख खम्बाको रुपमा रहेको सञ्चार क्षेत्रलाई राज्यले तर्साउने काम गर्नु निन्दनीय भएको बताए ।

संघीय राजधानी काठमाण्डुमा रहेका मुख्यमन्त्री यादव शुक्रवार बिहान नै सिरोहियालाई भेंटन फर्किन लागेको बताएका छन् ।‘विमानस्थलबाट म सोझै जिल्ला प्रहरी कार्यालयमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई भेंटन जानेछु’उनले भने, राज्यले अनाहक रुपमा कसैलाई दुख दिन पाउँदैन् ।’ प्रहरीले अनुसन्धानका लागि अदालतबाट थप गरेको म्याद शुक्रवार सकिदैछ । पुनः म्याद थपका लागि उनलाई जिल्ला अदालत धनुषामा उपस्थित गराइने तयारी गरिएको छ ।

प्रहरीले सिरोहियामाथि लगाएको आरोपको जवाफ उनले बुधवार नै दिइसकेका छन् ।काठमाण्डुस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा आफ्नै कार्यकक्षमा रहेका बेला हतियारधारी प्रहरी प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको थियो । त्यसको चौतर्फी विरोध भइरहेको छ । मिडिया सोसाइटीका अध्यक्ष शुभशकंर कडेल, आर्थिक पत्रकार समाजका पदाधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स लगायतका उद्योगी, व्यवसायीहरुका छाता संगठनका पदाधिकारीहरुले बिहीबार सिरोहियालाई भेटेर सहानुभूति प्रकट गर्दै राज्य आतंकको विरोध गरेका छन् ।

स्थानीय उद्योगी व्यवसायी, पेशाकर्मी, समाजसेवी, राजनीतिकर्मीहरुको भेटने क्रम बढेको छ । तत्काल थुनामुक्त नगरिए जनकपुरधाममा सशक्त प्रदर्शन गर्ने तयारी कांग्रेस, जसपा नेपाल लगायतका युवाहरुले गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीले भेटघाटको निर्धारित समयमा विभिन्न क्षेत्रका व्यक्तिहरु आएको जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News