अपडेट 
२०८१ जेष्ठ ११, शुक्रबार ०७:३६

नेपाल र भारतका व्यापारीहरुको शिखर सम्मेलन वीरगञ्जमा बिहीबार सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समिति तथा पीएचडी चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज भारत नेपाल सेन्टरले बिहीबार आयोजना गरेको सम्मेलनमा भारतले तीब्र गतिमा गरिरहेको विकासबाट नेपालले पनि फायदा लिनुपर्ने सम्मेलनमा सहभागीहरुले औल्याएका थिए । रेलवेज, हाइवेज, सुपरवेज र वन्दरगाहहरुको विकासबाट नेपालले पनि उपलब्धि लिनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका थिए ।

कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेलले भारतमा विकास भएका रेलवेज, हाइवेज, सुपरवेज र वन्दरगाहबाट नेपालले कनेक्टिभिटिहरु बढाउदै आर्थिक विकासमा फाइदा लिनुपर्ने बताए । उनले नेपाल र भारतबीच विद्यमान पारस्परिक सम्बन्धका साथै पछिल्लो समयमा भएको तीब्र आर्थिक तथा भौतिक विकास नेपालसंगको व्यापार सम्बन्ध थप लाभकारी सावितहुनसक्ने बताए ।

वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत देवी सहाय मीणाले नेपाल भारत बीचको खुला सिमाना, सदियौ देखिको वैवाहिक, धार्मिक जस्ता आधारस्तम्भमा आधारित विश्वमै अनौठो सम्बन्ध रहेको बताए । उनले नेपालको आर्थिक विकासका लागि भारत सधैं सकारात्मक रहेको बताउँदै पहिलो छिमेकी मूलमन्त्रका साथ भारतले नेपालको भौतिक, सामाजिक आर्थिक विकासमा अनवरत सहयोग गर्दै आएको बताए । उनले नेपाल भू–परिवेष्ठित देश भए पनि तेस्रो मुलुकबाट आयात गर्नका लागि भारतीय भूमिबाट पारवहन सेवा सहजीकरण गरिएको बताए ।

भारतीय कन्टेनर निगमका क्लष्टर हेड विशाल डी पाटिलले नेपाल र भारत महत्वपूर्ण व्यापारिक साझेदार भएको र पारवहन सेवाको सञ्जाल अझ महत्वपूर्ण रहेको बताए । लगानी वोर्डका कार्यकारी निर्देशक सुशील भट्टले विकास निर्माणको रुपान्तरणको चरणमा नेपाल रहेको बताए । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी अधिकृत आशिष गजुरेलले पारवहन सञ्जालका लागि नेपालमा हाल ८ वटा बन्दरगाहहरु सञ्चालनमा रहेको र यसको भौतिक पूर्वाधार विस्तार र संरचना निर्माणमा पनि निरन्तर प्रयास भइरहेको बताए ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, उद्योगी जगदीश अग्रवाल, वरिष्ठ पत्रकार चन्द्र किशोर लगायतले नेपाल भारत बीचको आर्थिक कनेक्टिभिटि र भविष्यमा देखिएका सम्भावनाको बारेमा आ–आफनो धारणा राखेका थिए ।

शिखर सम्मेलन अत्यन्त उपलब्धिमूलक रहेको र यसले नेपाल र भारतको उद्योग व्यापारको विकास र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको पीएचडी चेम्बर अफ कमर्स इण्डिया नेपाल सेन्टरका सचिव अतुल ठाकुरले बताए । उक्त सम्मेलनले २१बुन्दे वीरगञ्ज घोषणा पत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।

जारी गरिएको घोषणा पत्रमा नेपाल र भारत बीच व्यापार र पारवहन सम्बन्धलाई अझ महत्वपूर्ण र गहिरो बनाउन अन्तर्राष्ट्रिय ब्यापारको लागि भारतसंगको पारवहन सुविधामा निर्भर कम खर्चिलो हुनुपर्ने सम्भावनाको खोजी गरिनुपर्ने सुझाव दिए । घोषणापत्रमा दुवै देशका ब्यापार सम्बन्धी नीतिहरुमा फरक फरक प्रावधानहरु र कानुनी जटिलताहरुले व्यापारलाई कठिन बनाउने गरेको तथा व्यापार नीतिहरु अचानक परिवर्तन हुँदा व्यापारीहरुलाई अनुकूल गर्न गाह्रो हुने भएकाले व्यापार तथा औद्योगिक नीतिहरु दिर्घकालीन हुनुपर्ने उल्लेख छ ।

साथै नेपाल भारत सीमामा आयात– निर्यात कारोबारलाई सहज गर्न पारदर्शी र मर्यादित बनाउन सञ्चालित भन्सार, सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकीहरुको पूर्वाधार सुधार, आधुनिक प्रविधियुक्त र प्रभावकारी सञ्चालन हुनुपर्ने आवश्यता औल्याइएको थियो ।

Comment


Related News

Latest News

Trending News