अपडेट 
२०८१ जेष्ठ १२, शनिबार ०६:३७

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।

जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश रोमाकान्त ज्ञवालीले थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई समय दिएको छ । जिल्ला अदालत धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले जनाए अनुसार तीन दिन अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

जिल्ला अदालतले दोस्रो पटक तीन दिनको म्याद थपेको छ । सोमवार पुनः अदालतमा उपस्थित गराउनु पर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अझै जारी रहेको भन्दै पाँच दिन थुनामा राख्न आदेश मागेको थियो । सिरोहियालाई २ बजेतिर अदालतमा उपस्थित गराइएको थियो । त्यस अघि झण्डै ११ बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा वयान गराइएको थियो ।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोबिन्द शर्मा, टिकाराम भट्टराई ,अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल, दीपेन्द्र झाले वहस गर्दै मुद्दामा सहयोग गर्ने गरी सिरोहियालाई साधारण तारिखमा छाड्न आग्रह गरेका थिए । उनको पक्षबाट वहस गर्न ११ जना कानुन व्यवसायीहरुको सूची बनेको थियो । तर वहस लम्बिदा साँझ साढे ५ बजेको थियो ।

न्यायाधीश ज्ञवालीले समयाभाव भएको जनाउँदै कानुन व्यवसायीहरुलाई समय छोट्टयाउन आग्रह गरेपछि अन्य वकिलहरुले वहस गर्ने समय पाएनन् । काठमाण्डुस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार साँझ उनलाई पक्राउ गरिएको थियो । स्थलमार्गबाट सोही राति जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो ।

सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो । सिरोहियालाई थुनामा राख्न म्याद थप नगरिने धेरैको विश्वास थियो । सञ्चार जगतमाथि गरिएको नांगो आक्रमणको चौतर्फी आलोचना भइरहेकाले सिरोहियालाई थुनामुक्त गरी सरकारले अनुसन्धान बढाउने अड्कल गरिएको थियो ।

सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्नुको कुनै बाध्यकारी अवस्था नरहेको उनका कानुन व्यवसायीहरुले बताएका छन् । अनुसन्धानमा असहयोग गर्ने, प्रमाण नष्ट गर्न सक्ने अथवा देश छाडेर भाग्न सक्ने लगायतका कुनै आधार नरहेकाले सिरोहियालाई थुनामा राख्नु राज्यशक्तिको दुरुपयोग भएको उनीहरुले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट सिरोहियालाई सरकारी वकिलको कार्यालय लैजादा र त्यहाँबाट जिल्ला अदालतमा ल्याउँदा बाहिर रिहाइको माग गर्दै नारा लगाइएको थियो । विभिन्न पेशा र क्षेत्रसित आबद्ध व्यक्तिहरुको सहभागिता रहेको सो विरोध प्रदर्शनमा विभिन्न दलका नेताहरु पनि सहभागी रहेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको नेतृत्वमा जिल्ला अदालत धनुषाको अगाडि जनप्रतिनिधि र राजनीतिकर्मीहरुले धर्ना दिएका थिए ।

धर्नामा मारवाडी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरी, वडा अध्यक्ष मिथिलेश कर्ण, नेकपा एसका नेताहरु प्रचण्ड गर्मीमा पनि धर्ना दिएर सिरोहिया रिहाइको माग गरेका थिए । त्यस अघि जिल्ला प्रहरी कार्यालयमा पुगेर नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रदेश सभासद शेषनारायण यादव लगायतका नेताहरुले सिरोहियालाई भेंटेका थिए ।

सरकारले पूर्वाग्राही भएर यातना दिएको बताउँदै लोकतान्त्रिक र प्रेस स्वतन्त्रताको लडाईमा नेपाली कांग्रेस साथ रहेको वचन सिरोहियालाई दिएका थिए । सिरोहियाका पिता घाँसीराम सिरोहिया जनकपुरधाममा आएको झण्डै १ सय वर्ष भइसकेको छ । उनले २०१८ सालमा नै नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए ।

घाँसीराम सिरोहियाका ४ सन्तान मध्ये कैलाश कान्छो हुन् । उनका दाजु गोपाल सिरोहिया र गोविन्द सिरोहिया पनि नेपाली नागरिक हुन् । उनीहरु हाल काठमाण्डुमा व्यवसाय गरिरहेका छन् । कैलाश सिरोहियाले २०३६ सालमा वंशज नागरिकता लिएका हुन् । उनको नागरिकतामाथि प्रश्न उठाउनु पूर्वाग्रह बाहेक केही नभएको कांग्रेसका सहमहामन्त्री यादवले बताए ।

सहकारीको झण्डै अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण सार्वजनिक भइसके पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारबाट नहटाइनु सत्तारुढ दलहरु समेत सञ्चारको घाँटी निमोठ्न खोजेको उनले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News