अपडेट 
२०८१ जेष्ठ १३, आईतवार ०७:४४

मध्यतराईको किसानलाई लक्षित गरी पर्साको विरुवागुठीमा अत्याधुनिक अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।

मुख्यरुपमा मकै, गहुँ र भटमासलाई सुरक्षित भण्डारण गर्नका लागि एक अर्ब ६३ करोड रुपैयाँको लागतमा तराईको सुनसरी स्थित औरावनी छप्की, कपिलबस्तुको वीरपुर र पर्साको विरुवागुठीमा अत्याधुनिक अन्न भण्डारण गृह निर्माण गरिएको नेपाल वेयरहाउजिग कम्पनि लिमिटेडले जनाएको छ ।

शुक्रबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका महाप्रबन्धक समीरराज सत्यालले साईलो प्रविधिमा आधारित रहेर बैज्ञानिक प्राविधिमा अन्नलाई सुरक्षित रुपमा भण्डारणको व्यवस्था हुने गरी अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको जानकारी दिए ।

सुरक्षित प्रविधियुक्त कृषि बजारीकरणलाई समेत टेवा पुग्ने र किसानलाई पनि सहुलियत रुपमा सहजता प्रदान गर्ने उद्देश्यले बैज्ञानिक अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष आनन्द बगारीयाले जनाकारी दिए । उनले नेपालमा हरेक बर्ष करिब २० लाख टन मकै उत्पादन हुने गरेको र करीब ४ लाख टन मकै आयात हुँदै आए पनि ती खाद्यान्न सुरक्षित रुपले भण्डारणको व्यवस्था नभएको कारण ३० प्रतिशत खाद्यान्न नोक्सान हुनेगरेको बताए । त्यसैलाई मध्यनजर गरेर किसान र व्यापारीहरुका लागि कम्पनीले बैज्ञानिक प्रविधिको प्रयोगबाट गुणस्तरको समेत ख्याल गर्दै सुरक्षित तवरले भण्डारणको व्यवस्था मिलाएको अध्यक्ष बगारीयाको भनाइ थियो ।

कम्पनीकी सञ्चालिका सदिक्षा श्रेष्ठका अनुसार, चीन र जर्मनीबाट आयात गरीएका अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगबाट हाल मुख्य तीन उत्पदान गहुँ , मकै र भटवास भण्डारण गृह सुनसरी, पर्सा र कपिलवस्तुमा सञ्चालनमा ल्याएको छ । कम्पनीका अर्का संचालक सतिसचन्द्र श्रेष्ठले किसानका उत्पादन खरीद बिक्री गर्दै आएका व्यापारीहरुलाई नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको साईलो भण्डारण प्रविधिलाई उपभोग गर्न आग्रह गरे ।

नेपाल हाउजिङ्ग कम्पनी लिमिटेडले किसानलाई आवश्यक पर्ने बीउ, मल, विषादी, उपकरण तथा अन्य आवश्यक वस्तु बैंक तथा वित्तीय व्यवस्थापन अन्तर्गत धितो व्यवस्थापनका साथै नोक्सानी बीमाको समेत व्यवस्था गरेकाले सानादेखी ठूला किसानहरु लाभान्वित भइरहेको सञ्चालक प्रदीप अग्रवालले बताए । मकै र भटमास उत्पदान तर्फ पछिल्लो समय निरुत्साहित भएका किसानहरु फेरि पनि आकर्षित हुने र देशमा उत्पादनसंगै खपत पनि बढाउने विश्वास तथा उद्देश्य लिइएको उनले बताए ।

भण्डारण गृहकै अभावमा किसानका उत्पादन २५ प्रतिशत नोक्सान भएर जाने गरेको सरकारी तथ्यांकले पनि देखाएको भन्दै उनले त्यसैलाई मध्यनजर गर्दै यस्ता भण्डारण गृहको अवधारणालाई अघि सारिएको बताए ।

Comment


Related News

Latest News

Trending News