गणतन्त्र स्थापनाको १६ वर्ष पुगेको छ । गणतन्त्र जनता सार्वभौम सम्पन्न भएको शासन पद्धति हो । जीवन पद्धति पनि हो । विडम्बना ! तत्कालीन शासकले धनुषा , महोत्तरी र सप्तरीका योद्धाहरुलाई बम काण्डका नाममा बेपत्ता पारेको अवस्था अन्धकारमा हराए झै.रहेको छ ।
वि.स. २०४२ असार ६ गते भएको बमकाण्डको नाममा पक्राउ गरी बेपत्ता पारिएका व्यक्तिको अवस्था अहिलेसम्म अज्ञात देखिएको छ । प्रजातान्त्रिक व्यवस्था आएपछि बेपत्ता पारिएकाहरूको खोजी होला , तिनीहरू जीवित वा मृत छन् , त्यसको पत्तो लाग्ला भन्ने आशा रहेकोमा विभिन्न समयमा बनाइएका समितिले पनि अवस्था बारेमा प्रस्ट उल्लेख गरेको छैन् ।
हुन त २०१७ सालमा पंचायती व्यवस्थाको स्थापना र त्यस व्यवस्था विरोधी आन्दोलनसँगैं नेपालमा त्यस अघि संगठित रुपमा नदेखिएको अचानक मानिस हराउने रोग देखा परेको थियो । हराउनु संभवतः एउटा बहाना मात्र थियो । यसरी हराए भनिएकाहरु अधिकांश यातनागूहमा यातना सहन नसकेर मृत्यु वरण गर्न बाध्य भए भने केहीलाई मारेपछि मुठभेडको फर्जी घटना बनाएर दबाइएको थियो । २०४६ सालमा जनआन्दोलनको सफलतापछि प्रजातन्त्रको स्थापना भयो ।
प्रजातन्त्रको स्थापनासँगै हराएका मानिसको विषयमा पनि खोजी होस् भन्ने माग बढ्दै गयो । जनआन्दोलनमा सहभागी भएका राजनीतिक दलकै कार्यकर्ताहरु र पंचायत विरोधी आन्दोलनका सहभागीहरुको खोजी गर्नु अन्तरिम सरकारको दायित्व थियो । त्यही क्रममा २०१७ सालदेखि प्रजातन्त्रको पुनस्र्थापना गर्ने कार्यको सिलसिलामा बेपत्ता भएकाहरुको खोजी गर्न अन्तरिम सरकारद्वारा वि.स. २०४७ फागुन १० गते सूर्य बहादुर शाक्यको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन अनुसार वि.स. २०४२ असार ६ गते बमकाण्डका नाममा पक्राउ गरिएका डा. लक्ष्मीनारायण झा , साकेतचन्द्र मिश्र ,सूर्यनाथ यादव , दिलीप चौधरी , सत्यनारायण साह , पद् मबहादुर मोक्तान, ईश्वरचन्द्र लामा र महेश्वर चौलागाइलाई बेपत्ता पारिएकाहरूको पंक्तिमा राखिएको छ ।
वि.स. २०४२ असार १४ गते बमकाण्डको अभियुक्त बनाइ धनुषा जिल्ला देवडिहाका जनकपुरमा निजी क्लिनिक चलाइ चिकित्सा पेशामा संलग्न डा. लक्ष्मीनारायण झालाई तत्कालीन एस.पी. नारायण सिंह गुरूङ्गको नेतुत्वमा पक्राउ गरिएको शाक्यको प्रतिवेदनमा उल्लेख छ ।झाका सम्बन्धमा समितिका पदाधिकारीले बुझ्दा प्रहरी फोर्समा सबैकुरा लिखित मात्र नआउने र मौखिक आदेशका भरमा पनि कति कामहरू हुने गरेको भनी बताएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
समितिले गरेको अनुसन्धान बमोजिम सो समयमा पक्राउ परेका महेन्द्रप्रसाद सिंह ,पत्रकार राजेश्वर नेपाली र मुस्लिम राइन मियाँ लगायतको बयानबाट त्यसबेला त्यहाँ धेरै मानिस पक्राउ गरिएको र धेरैलाई काठमाडौ. पठाइएको तथा त्यसमध्ये डा. लक्ष्मीनारायण झा समेत रहेको ठहर गरिएको छ । हुन त यसबारे जनकपुर अञ्चल प्रहरी कार्यालयले २०४७ फागुन १ गतेमा समितिलाई पठाएको पत्रमा बमकाण्डमा जनकपुरमा कुनै मानिस पक्राउ परेको स्रेस्ता छैन भन्ने जानकारी दिएको देखिन्छ ।
तर समितिले डा. झालाई साउन ४ गतेसम्म हनुमान ढोकामा र साउन ४ गतेदेखि सशस्त्र प्रहरी गण नक्सालमा प्रहरीले राखेको प्रमाण प्रस्तुत गरेको छ । थुनामा राखिएका बेला काठमाडौमा २०४२ साल साउनको अन्त्यतिर थुनामा रहेका अधिवक्ता कटक मल्लले आफूसहित केही बन्दीहरूलाई सदर प्रहरी तालिम केन्द्र महारागन्जमा सोधपुछ गर्न लाग्दा डा. झासँग करिब आधा घण्टा राखिएको कुरा बताएका थिए । त्यसै रहँदा बोलचाल गर्न अनुमति नभएकाले कुरा गर्न नपाएको तर डा. झाले औंलाका नङमा ब्लेडले काटी पिन हालेको अवस्था सबैलाई देखाएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
डा. झाको क्लिनिकमा काम गर्ने धनुषा जिल्ला कपिलेश्वरका सत्यनारायण साहलाई २०४२ असार १० गते प्रहरीले पक्राउ गरी असार १४ गते काठमाडौ चलान गरेको एकमहिनापछि उनका बुबा रामएकवाल साहले छोरालाई भेटन जाँदा काठमाडौ जिल्ला प्रहरी कार्यालयमा लुगा बुझाएका थिए । त्यसबेला प्रहरीले सामान बुझेर लिएको तर भेट गर्न नदिएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि छोराबारे जानकारी पाउन २०४३ असार १९ मा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिइ आएकोमा प्रहरीले पक्राउ गरी बुबा रामएकवाल साहलाई अञ्चलाधीश कार्यालयमा तीन दिन थुनेको र एउटा कागजमा सही गराएर छोडेको थियो । तर सत्यनारायण साहलाई कुन मितिदेखि बेपत्ता पारियो , समिति समक्ष तत्काल थुनामा राख्ने कुनै निकायले विवरण प्रस्तुत गरेको देखिदैन । त्यस्तै २०४२ सालको बमकाण्डको समयमा पक्राउ गरी सिरहा जेलमा रहेका धनुषा जिल्ला चोरा कोयलपुरका सूर्यनाथ रान यादवलाई २०४२ असार ३१ गते काठमाडौ केन्द्रीय कारागार चलान गरेको स्रेस्ता बनाइ काठमाडौ जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसपछि २०४२ भदौ २५ गते सूर्यनाथलाई पुनः सिरहा फिर्ता गरेको देखिए पनि २०४२ असोज १ गतेमा सगरमाथा अञ्चलाधीश कार्यालयले एउटा पत्र पठाइ सूर्यनाथलाई खोटाङ कारागारमा सार्ने आदेश अनुसार सिरहाबाट २०४२ असोज २ गतेमा उदयपुर जिल्लाको सिद्धिपुर गाउँ ओख्राहा दोभानमा बास बसेका ठाउँमा राति थुनुवाले पिसाब लाग्यो भनी हत्कडीसहित दिसापिसाब गर्न लाग्दा पाले उपर जबर जस्ती बल प्रयोग गरी हत्कडीसहित भागेको भन्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
२०४२ जेठ ११ गते जनकपुरबाट धनुषा जिल्ला उमा प्रेमपुरका ईश्वरचन्द्र लामा र पद्मबहादुर मोक्तानलाई पक्राउ गरी काठमाडौं चलान गरिएको देखिन्छ । नेपाली काङ्गे्रसको आह्वानमा भएको सत्याग्रहमा लिएका कारण उनीहरुलाई पक्राउ गरिए पनि पछि बम काण्डमै संलग्न रहेको भनी अभियुक्त बनाइएको थियो । शुरूमा पक्राउ गरी सार्वजनिक सुरक्षा अन्तर्गत नक्टाझिज पोष्ट हाउसमा थुनामा राखिएको थियो । सो स्थानमा महेन्द्रनाराण निधि , आनन्दप्रसाद ढुङ्गाना ,वृषेशचन्द्र लालसँगै उनीहरूलाई २२ दिनसम्म संगै राखिएको थियो ।
त्यसपछि उनीहरूको छातीमा नेपाली काङ् ग्रेस लेखेको प्लेट राख्न लगाएर फोटो खिची सूर्ती विकास कम्पनीको गोदाममा राखेको र पछि महोत्तरी कारागार हुँदै तत्कालीन प्रमुख जिल्ला अधिकारी घनानाथ ओझाको आदेशले जेलबाट पुनः प्रहरीलाई बुझाइ महोत्तरीबाट काठमाडौं चलान गरिएको थियो । दुबै जनालाई २०४२ असार २१ गते काठमाडौं महेन्द्र पुलिस क्लवमा पु¥याइ सोही दिन हनुमान ढोकामा थुनिएको कुरा समितिले प्रमाण प्रस्तुत गरेको छ । पक्राउ गर्दा सत्याग्रही भनी पक्राउ गरेको तर बम काण्डपछि २०४२ असार ११– १२ तिर बम काण्डभन्दा अघिदेखि थुनामा रहेका दुबै जनालाई प्रहरीले जनवादी मोर्चाको प्लेट झुण्डयाएर फोटो खिच्न खोज्दा प्रतिकार गरेको कुरा तत्काल सँगै थुनिएकाको बयानबाट प्रस्ट गरिएको छ ।
काठमाण्डौं पु¥याइएपछि प्रहरी तालिम केन्द्रमा उनीहरु लगायत अन्य बन्दीहरुलाई पनि राखिएको कुरा परिस्थितिजन्य प्रमाणबाट स्पष्ट हुन्छ ।तर तालिम केन्द्रका तत्कालीन इन्चार्ज अच्यूतकृष्ण खरेलको बयान समतिले सोधेको प्रश्नको जवाफ दिने औपचारिकता मात्र पूरा गर्ने खालको र तथ्थहीन भएकोले समितिको अनुसन्धान नै पूर्ण देखिदैन । सोही काण्डका सिलसिलामा पक्राउ परेका मुस्लिम राइन मियाँको बयानमा प्राप्त कागजात भिडाउँदा २०४२ असोज ८ गते तालिम केन्द्र महाराजगंजमा रहेका रहेका दुबै जना कसरी बेपत्ता भए ? अहिल पनिे अनुसन्धानको गर्भमा छ । यसैगरी सप्तरीका साकेतचन्द्र मिश्रको अवस्था पनि अज्ञात रहेको छ ।
२०४२ असार ७ गते आफ्नै घर तिलाठीबाट प्रहरी निरीक्षक इन्दिवर सिंहसहितको प्रहरी टोलीले उनलाई पक्राउ गरी अञ्चल प्रहरी कार्यालय राजविराज राखिएको थियो । तत्काल पक्राउ परेका अन्य व्यक्तिहरुका अनुसार त्यस बखत एस पी मोतीलाल बोहोरा थिए । समितिले बोहोर संग लिएको जवाफमा उक्त कार्य अञ्चल प्रहरी कार्यालयको क्षेत्रभित्र नपरेको तथा अञ्चल कार्यालयमा थुन्ने कोठा तथा थुन्ने काम नभएको जानकारी दिए पनि अन्य पक्राउ परेका व्यक्तिहरुले आफू साकेतचन्द्र मिश्रका साथ अञ्चल प्रहरी कार्यालयमा थुनिएको जानकारी दिएका थिए ।
साथै समितिले प्राप्त गरेको प्रमाणका आधारमा हेर्दा एस पी बोहोराको मौखिक आदेशमा पक्राउ परेका साकेतलाई २०४२ असार १३ गतेसम्म अञ्चल प्रहरी कार्यालयमै थुनामा राखी सोही कार्यालयको आदेशमा २०४२ असार १३ गतेको पत्रसाथ काठमाण्डौं प्रहरी कमाण्ड पोष्ट पु¥याउन राजविराजबाट मोरंग पशुपति एक्सप्रेस बसमा चढाइ प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काका साथ चलान गरिएको देखिन्छ । यसपछि मिश्रलाई काठमाण्डौंमा विभिन्न प्रहरी कार्यालय र तालिम केन्द्रहरुमा राख्दै अन्ततः २०४२ साल भदौ २४ गतेसम्म सशस्त्र प्रहरी नक्सालमा प्रहररीनिरीक्षक प्रकाश कुँवरको र्ेखदेखमा राखेकोसम्म प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि उनी बेपत्ता भएको अवस्था विद्यमान छ । त्यस्तै महोत्तरीका दिलीप चौधरी पनि डिल्लीबजार खोरबाट बेपत्ता रहेका छन् । चौधरीलाई २०४२ बैशाख २२ गते नेपाल ल क्याम्पसबाटमा मित्रमणि आचार्यको हत्या विरूद्ध भएको भेलाबाट पक्राउ गरी डिल्लीबजार खोरमा थुनिएको थियो ।