अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार १३:१०

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् ।

सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको छ । वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।

०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई पनि धनुषा प्रहरीले बोलाएका थिए ।

सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन लागु भएकै थिएन । त्यसैले तत्कालीन शाखा अधिकृत दाहाल अनुसन्धानमा तानिएकाको बुझिएको छ ।

सिरोहिया जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा हुन् । उनको बुवाको नागरिकतामा पनि वडा नम्बर १ नै उल्लेख छ । तर सिरोहियाले वडा नम्बर ५ बाट नागरिकता लिएको देखिन्छ । स्रोतका अनुसार वंशज नागरिकता बनाउकै लागि अर्को वडाबाट उनले सिफारिश गराएका थिए ।

सिरोहियाको नागरिकता जारी गर्ने कर्मचारीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो भन्ने जिज्ञासामा धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले त्यो विषयमा केहि बोल्न नमिल्ने बताए ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।

 

Comment


Related News

Latest News

Trending News