अपडेट 
२०८१ जेष्ठ १८, शुक्रबार ०७:४५

मधेश प्रदेश सरकार जोखिममुक्त रहेको दाबी मुख्यमन्त्री सरोज कुमार यादवले गरिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संघीय गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिँदै बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने छ । जेठ २९ गते भित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने छ । तर उनले २३ गते नै विश्वासको मत लिने तयारी गरेका छन् ।

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र नेकपा एसले समर्थन गर्ने जनता समाजवादी पार्टी( जसपा)नेपालका नेताहरुले दाबी गर्दै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले बिहान नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको बताएका हुन् । ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँग पनि जोडिने जस्तो देखिएको थियो,’ प्रचण्डले भने, ‘ बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले नेपालसित कुरा गर्नु अगावै एसका सम्मानित नेता झलनाथ खनालसित भेँटेका थिए ।

नेता खनाल संघीय गठबन्धनप्रति बढी लचक मानिन्छन् । मधेश प्रदेशमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको कथन थियो । संघीय सत्ता गठबन्धनलाई नेकपा एसले साथ दिए मात्र मधेश प्रदेशमा सरकार गठन हुनसक्छ । एमाले र माओवादी सम्मिलित सरकारमा सहभागी नहुने धारणा लोसपाले सार्वजनिक गरिसकेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिनु अगावै नेकपा एसलाई सरकारबाट अलग्याउने विषयमा समेत प्रधानमन्त्री प्रचण्डले प्रयास थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेकपा एसका अध्यक्ष नेपाल मधेश प्रदेश सरकारको विषयमा छलफल गरेका थिए ।

छलफलमा सहभागी नेताहरुले सकारात्मक रुपमा वार्ता अगाडि बढेको बताउँदै हाल जसपा नेपालको सरकारलाई नै विश्वासको मत दिनेमा सहमति समेत जनाएका छन् । मधेश प्रदेशमा हाल जसपा नेपाल र नेकपा एसको संयुक्त सरकार छ । सरकारले बहुमत सावित गर्न बाँकी छ । एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्तापछि सरकार बनाउन गरेको पहलमा नेकपा एसलाई सहभागी गराएको छैन । एसलाई छाडेर नेकपा एमाले, माओवादी र जनमत पाटीले लोसपाको साथ खोजिरहेका छन् ।

नेकपा एसले संघीय गठबन्धनलाई साथ नदिए बागमती प्रदेशमा समेत माओवादी नेतृत्वको सरकार खस्नेछ । संघीय गठबन्धनमा रहे पनि एसलाई गठबन्धनको कुनै बैठकमा सहभागी गराइदैन । उपेक्षित रहेका एसका नेताहरुले सत्ता गठबन्धनबाट फुत्किन निहुँ खोजिरहेका छन् । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई नै समर्थन जारी राख्ने एस संसदीय दलका नेता समेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले जनाएका छन् । एसकी बेची लुंगेली श्रम तथा यातायात मन्त्री छिन् ।

प्रधानमन्त्री प्रचण्डले एस गठबन्धन भन्दा बाहिर जान नसक्ने दबाब बनाउन सुदुरपश्चिम प्रदेश सरकारमा हाल सम्म सरकारमा सहभागी भएको छैन । त्यहाँ नेकपा एसको नेतृत्वमा सरकार बनेको छ । माओवादी र एमाले विश्वासको मत दिए पनि सरकारमा गएको छैन ।

Comment


Related News

Latest News

Trending News