अपडेट 
२०८१ जेष्ठ १८, शुक्रबार ०७:५२

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ शनिबारदेखि सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य संघमा हुने मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

श्रम मन्त्रालयका उपसचिव एंव मेलाका मधेश प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्नका लागि मेला आयोजना हुन लागेको बताए । त्यस्तै, मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे ।

मधेश प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उनले बताए । सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे । श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेश प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए ।

सो मेलामा ३५ स्टल राखिने छ भने हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले बताए । नेपाल उद्योग परिसंघ सिआइएनका मधेश प्रदेश संयोजक प्रमोद शाहले मेलाको उदेश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए । “हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नु परेको अवस्था छ । त्यो भिडभाडलाई कम गर्न मेला सहयोगी बन्नेछ । हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौँ । हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौे” उनले भने । तर, सीपको अभावले श्रमिकले रोजगारी पाउन नसकेको उनले बताए ।

जनकपुरधाममा सञ्चालन हुन गइरहेको मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दैछन् । सहआयोजक नेपाल उद्योग परिसंघ रहेको छ । सो मेला शनिबार र आइबारसम्म सञ्चालन हुनेछ ।

Comment


Related News

Latest News

Trending News