अपडेट 
२०८१ जेष्ठ १९, शनिबार ०८:०२

मधेश प्रदेशमा संघीय गठबन्धनको सरकार बनाउन निर्णायक बनेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि एमाले र माओवादी केन्द्रले विशेष दबाब बनाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुरसहितका विपक्षी दलका नेतासँग बुधवार छलफलमा बसेका नेकपा नेकपा एसका अध्यक्ष नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार छलफल गरेका छन् । कांग्रेस सभापति देउवा, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी( जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मधेश प्रदेश सरकारको विषयमा भएको छलफलमा एसका अध्यक्ष नेपाल पनि सहभागी थिए ।

संघीय सत्ता गठबन्धनमा रहेका नेपाल मधेश प्रदेशमा जसपा नेपालको सरकारमा पनि सहभागी छ । नेकपा एसले मधेश प्रदेशमा जसपा नेपालको सरकारलाई साथदिने धारणा सार्वजनिक गरिसकेको छ । त्यसको पुष्टि मधेश प्रदेशमा एसका दुई जना मन्त्री गोविन्द न्यौपाने र बेची लुंगेलीको निरन्तरता हो ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव, जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले बिहीबार संयुक्त विज्ञप्ति जारीगर्दै मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्न लोसपा र नेकपा एस समेतको सहमति रहेको उल्लेख गरिएको थियो ।

सो विज्ञप्तिको लोसपाका नेताहरुले कडा शब्दमा विरोध गरिसकेका छन् । नेकपा एसले त्यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन् । मधेश प्रदेशमा सरकार गठनका लागि बहुमत पु¥याउन बिहीबार नै एमाले, जनमत र माओवादी संसदीय दलका नेताहरु काठमाण्डुमा घनिभूत छलफलमा जुटेका छन् । उनीहरुले नै आ–आफ्ना दलका नेताहरुलाई नेकपा एसको समर्थन जुटाइदिन दवाव दिन थालेपछि शुक्रवार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओली र प्रचण्डले नेपालसँग छलफल गरेका छन् । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए ।

सो क्रममा सत्तारुढ दल भए पनि नेपाल बुढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ । नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ । छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने– ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको छ ।’ देउवा निवासको बैठककै विषयमा प्रधानमन्त्री प्रचण्डले बिहीबार नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग भेंटवार्ता गरेका थिए । उनले अध्यक्ष नेपालसँग पनि फोनमा वार्ता गरेपछि विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेपाल यता, उता गरिरहने भए पनि सत्तागठबन्धन भन्दा बाहिर नजाने दावी गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार पार्टी संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरूको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको ब्रिफिंग गरेका थिए । सिंहदरबारमा भएको तीन नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उक्त बैठकमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको अध्यक्ष ओलीले बताए । मधेश प्रदेशमा सरकार गठनको विषयमा नै मुख्यरुपमा छलफल केन्द्रित रहेको उच्चस्रोतले जनाएका छन् । यद्यपि नेताहरुले यस विषयमा खुलाएका छैनन् । नेता नेपालले बैठकपछि कुनै प्रतिक्रिया जनाएका छैनन् । जसपा नेपालले पार्टी विभाजन विरुद्ध सर्वोच्च अदालतमा रिट दिएको छ ।त्यसको सुनवाई २२ गते तोकिएको छ । जसपा नेपालको पक्षमा अदालतको फैसला आए संघीय राजनीतिमा ठूलो उथलपुथल हुने संकेत देखिन थालिएको छ ।

तर हाल मधेश प्रदेश सरकार राजनीतिकलाई हलचल बनाएको छ । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वमा सरकार छ । नेकपा एस सरकारमा सहभागी छ । मुख्यमन्त्री सरोज कुमार यादवले २१ गते प्रदेश सभाको बजेट अधिवेशन आव्हान गरेका छन् । उनले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । २५ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटिसकेको छ ।

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी प्रावधान छ ।

Comment


Related News

Latest News

Trending News