अपडेट 
२०८१ जेष्ठ १९, शनिबार ०८:०४

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ शनिबारदेखि सुरु हुनेभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजना तथा नेपाल उद्योग परिसंघको सह आयोजनामा शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन हुने मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने भएका छन् ।

सो मेलाबारे जानकारी दिँदै श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेश प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए । उनले मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले भने–‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ ।

यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ ।’ उनले मधेश प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू सङ्कलन गरिने पनि बताए । सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे ।

मधेश प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिने अपेक्षा रहेको छ । यस मेलामा सहभागिताका लागि ३५ स्टल राखिएको छ ।

Comment


Related News

Latest News

Trending News