अपडेट 
२०८१ जेष्ठ २०, आईतवार ०७:२२

मधेश प्रदेशमा सत्ता गठबन्धनको जोड घटाउ तीव्र भएसँगै सत्तासीन जनता समाजवादी पार्टी( जसपा)नेपालको महाधिवेशन ओझेलमा पर्न थालेको छ ।

जसपा नेपालका प्रभावशाली नेताहरु सरकार जोगाउन लागेपछि महाधिवेशन प्रभावित भइरहेको बताइन्छ । महाधिवेशन निर्धारित समयमै हुने र प्रचारप्रसारको कार्य तीव्र रुपमा भइरहेको कार्यकारिणी समिति सदस्य विजय यादवले बताए ।

‘महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ’ उनले भने, ‘महाधिवेशनमा १ हजार प्रतिनिधि र ५ सय जना पर्यवेक्षक, स्वयंसेवक लगायतका रहने छन् ।’ जेठ २७, २८ र २९ गते जनकपुरधाममा जसपा नेपालले एकताको प्रथम महाधिवेशन गर्न लागेको छ । २७ गते हुने महाधिवेशन उद्घाटनमा ५० हजार भन्दा बढी सहभागिता रहने जसपा नेपालका नेताहरुले दावी गरेका छन् ।

अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। महाधिवेशन अगावै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले २३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकारले विश्वासको मत प्राप्त गर्न सके महाधिवेशनमा उत्साह थपिनेछ ।तर सरकारले विश्वासको मत प्राप्त गर्न नसके महाधिवेशनमा त्यसको असर प्रष्ट देखिने छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सोमवार पेशी छ ।

विभाजनले अदालतको मान्यता पाए प्रदेशको संसदीय दल समेत विभाजन हुने दावी अशोक राई नेतृत्वको जसपाका नेताहरुले गरिरहेका छन् । जसपा नेपालको महाधिवेशन भन्दा पहिले नै पक्षमा अदालतको फैसला आए नेता, कार्यकर्ताहरुमा उत्साह थपिने बताइन्छ ।

Comment


Related News

Latest News

Trending News