अपडेट 
२०८१ जेष्ठ २०, आईतवार ०७:३६

मधेश प्रदेशमा सरकार टिकाउन र गिराउन निकै राजनीतिक कसरत भइरहेको छ । जनता समाजवादी पार्टी(जसपा)नेपाल नेतृत्वको सरकारलाई जोगाउन कांग्रेस लगायतका केही दलहरु लागि परेका छन् । तर सरकारलाई ढालेर जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्र सम्पूर्ण ताकत लगाएका छन् ।

१ सय ७ सदसयीय मधेश प्रदेशमा सरकार गठनका लागि कम्तीमा ५४ सभासदको समर्थन चाहिन्छ । नेकपा एमालेको सभामुख सहित २५ सभासद, जनमत पार्टी १३ सभासद र माओवादी केन्द्रको ९ सभासद रहेका छन् । जसपा नेतृत्वको सरकार ढाल्न गठन भएको एमाले, जनमत र माओवादी केन्द्र समेतको ४७ सभासद रहेका छन् । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल सभामुख छन् । त्यस बाहेक ४६ सभासद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ सभासद चाहिन्छ ।

नेकपा एसको ७ जना सभासद रहेका छन् । नेकपा एसले संघीय गठबन्धन सरकारलाई समर्थन गरे संख्या ५३ पुग्नेछ । सरकार बनाउन थप १ सभासद चाहिन्छ । मधेश प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का १ जना सभासद, नागरिक उन्मुक्ति पार्टीका १ जना सभासद र संघीय समाजवादी पार्टीका १ जना सभासद रहेका छन् ।

राप्रपाले एमाले सहितको गठबन्धन सरकारलाई मधेश प्रदेशमा समेत समर्थन नगर्ने धारणा सार्वजनिक गरिसकेको छ । तर नागरिक उन्मुक्ती पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सभासदहरुले एमाले सहितको गठबन्धनलाई समर्थन गर्ने दावी एमालेका नेताहरुले गरिरहेका छन् । नेकपा एसले समर्थन गरे पनि तीन दलीय गठबन्धनलाई आवश्यक बहुमत संख्या नपुग्दा थप संख्या पु¥याउन काठमाण्डुमा एमाले, माओवादी र जनमतका नेताहरु एकजुट भएर लागेका छन् । सत्ताधारी जसपा नेपाल नेकपा एसको साथ रहनेमा विश्वस्त देखिन्छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवको सरकारमा नेकपा एसका २ जना मन्त्री छन् । एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका छन् । अर्का प्रभावशाली सभासद बेची लुंगेली श्रम तथा यातायात मन्त्री रहेकी छन् । शनिवार उनीहरुले सरकारलाई समर्थन जारी रहने बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पनि एमाले सहितको गठबन्धनलाई समर्थन नगर्ने सार्वजनिक गरेको धारणामा दृढ रहेको छ । लोसपाको प्रदेश सभामा ९ सिट रहे पनि संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । प्रदेश सभामा मतदान भए लोसपाका ८ जना मात्र सहभागी हुनेछन् । नेपाली कांग्रेसको मधेश प्रदेशमा २२ जना सभासद रहेका छन् ।

कांग्रेसले जसपा नेपाललाई समर्थन गर्ने धारणा सार्वजनिक गरिसकेको छ । सरकारलाई जोगाउन कांग्रेसले सक्रिय भूमिका निर्वाह गरिरहेको छ । कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपाको ८ जना सभासद एकजुट भए ४९ जना सभासद पुग्ने छन् । नेकपा एसले हालको अवस्थामा नै कायम रहे मुख्यमन्त्री यादवले सहज रुपमा बहुमत प्राप्त गर्ने छन् । नेकपा एसले समर्थन जारी राखे ३ पार्टीको १/१ जना सभासदले पनि सत्तापक्षलाई नै समर्थन गर्ने निश्चित छ ।

साना दलको समर्थन सत्ता गठबन्धनले पाए पनि संख्या ५२ भन्दा माथि जाने छैन् । सत्ता जोगाउन र गिराउने खेल चलिरहेको बेला नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकार गठनका लागि आवश्यक बहुमत संख्या आफूहरुसित पुगेको दावी गरेका छन् । ‘शीर्ष तहमा सहमति भइसकेकाले बहुमतसहित सरकारका लागि दावी गरिनेछ’ उनले भने, लोसपाले पनि साथ दिनेछ ।’ मुख्यमन्त्री जनमतको हुने टुंगो लागिसकेको र अन्य मन्त्रालयहरुको बाँडफाँट प्रदेश राजधानीमा गठबन्धनमा रहेका दलहरुबीच हुने उनले बताए । तर नेकपा एसले समर्थन गरे पनि सरकारलाई चाहिने आवश्यक बहुमत संख्या नपुग्ने भएकाले अन्य सभासदहरुसित समर्थनको प्रयास भइरहेको जनमत पार्टीका प्रवक्ता शरद यादवले बताए । ‘मधेश प्रदेशमा लामो समयदेखि भ्रष्टाचार चलेकोले अब अन्त्यका लागि जसपा नेपालविरुद्ध दलहरु एकजुट भएका छन्’ उनले भने जनमत पार्टीको नेतृत्वमा बन्न लागेको सरकारलाई जसपा नेपालले समर्थन गरेर उदारता देखाउँदा सकारात्मक सन्देश जानेछ ।

नेकपा एसको निर्णय आज

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आइतवार हुने सचिवालयको बैठकबाट मधेश प्रदेश सरकारको विषयमा निर्णय लिने बताएका छन् ।

जसपा नेपालका प्रवक्ता समेत रहेका मधेश प्रदेशका सभासद मनिष सुमनसित शनिवार भएको भेंटवार्तामा उनले आइतवार सचिवालयको बस्ने बैठकबाट निर्णय हुने बताएका छन् ।

प्रदेश सरकारमा साथ रहेको नेकपा एसले विश्वासको मत दिनेमा सकारात्मक रहेको प्रवक्ता सुमनले बताए । ‘नेकपा एस सकारात्मक रहेको र सरकारलाई विश्वासको मत दिनेछ’ उनले भने, ‘नेता नेपालले सरकारप्रति सकारात्मक रहेको र सचिवालयबाट आउने निर्णय कुर्न भन्नु भएको छ ।’ संघीय गठबन्धनमा रहेको नेकपा एसलाई मधेश प्रदेशमा पनि सोही गठबन्धनमा रहन चर्को दबाब छ । नेकपा एसमा आन्तरिक रुपमा पनि संघीय गठबन्धनको साथ रहन व्यापक दबाब छ ।

Comment


Related News

Latest News

Trending News