अपडेट 
२०८१ जेष्ठ २१, सोमबार ०६:५६

मधेश प्रदेशमा सरकार गठनका लागि अंकगणित मिलाउन प्रदेशका नेताहरु संघीय राजधानी काठमाण्डुमा दौडधुप गरिरहेका छन् । एमाले, माओवादी केन्द्र र जनमत पार्टीका संसदीय दलका नेताहरु सहितको टोलीले नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को समर्थन जुटाउन कसरत गरिरहेका छन् ।

नेकपा एसले नेकपा एमाले र जनमत पार्टीलाई मुख्यमन्त्रीमा स्वीकार्न नसकिने बताएको छ । मधेश प्रदेश एसका नेताहरुले जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिने अडान लिएको कारण सो पार्टीको आइतवार बस्ने सचिवालयको बैठक सोमवारका लागि सारिएको छ । उच्चस्रोतहरुका अनुसार नेकपा एसले आफूलाई मुख्यमन्त्री दिनुपर्ने नभए जनमत र एमालेलाई मुख्यमन्त्री स्वीकार्न सकिदैन् ।

जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री पाए संघीय सरकारलाई बाहिरबाटै समर्थन जारी राख्ने सहमति गरेको स्रोतहरुले जनाएका छन् । एमाले, माओवादी र जनमत पार्टीले जनमतको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउने निर्णय सार्वजनिक गरिसकेको छ । जनमत पार्टीले स्वतन्त्र मधेश र नयाँ गणतन्त्र जस्ता विभाजनकारी मुद्दाहरु उठाउने गरेको आरोप लगाउन थालिएको छ । ‘एमाले, माओवादी र जनमत पार्टीले लिने निर्णयलाई एसले समर्थन जनाउने निकाय होइन्’ एस संसदीय दलका नेता गोविन्द न्यौपानेले भने–‘मुख्यमन्त्री हामीले पाउनु पर्छ । नभए, माओवादी, लोसपाको नेतृत्वमा सरकार बने समर्थनको विषयमा छलफल हुन सक्छ ।’ एमालेका नेताहरुले आइतवार नै मधेश प्रदेशको कुल १ सय ७ सभासद मध्ये ६३ जनाको समर्थन सहित सरकार बनाउन प्रदेश प्रमुखलाई बुझाउने बताएका थिए । तर लोसपाले सार्वजनिक गरेको विज्ञप्तिमा मधेश प्रदेशको सत्ताखेललाई ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गरेको छ । एमाले, माओवादी र जनमत पार्टी गठबन्धनले लोसपाको समर्थन प्राप्त भइसकेको दावी गरेको थियो ।

सभासदहरुको हस्ताक्षर समेत प्राप्त भइसकेको बताउँदै संख्या ६३ पुगेको जनाएको थियो । उच्चस्रोतहरुका अनुसार लोसपाले नेकपा एसको निर्णयलाई कुरिरहेको छ । नेकपा एसले मधेश प्रदेश सरकार नछाडने निर्णय गरे लोसपाले पनि समर्थन गर्ने छ । तर एसले जसपा नेपालको साथ छाडे लोसपाले पनि नयाँ सरकारलाई समर्थन गर्ने बलियो संभावना छ ।

मधेश प्रदेशको राजनीतिमा नेकपा एस र लोसपा केन्द्रमा देखिएको छ । लोसपा र एसले समर्थन गर्ने गठबन्धनले नै सरकार बनाउने निश्चित छ । कांग्रेसले समर्थन दिएको जसपा नेपालका लागि पनि एस र लोसपाको समर्थन अनिवार्य चाहिन्छ । एमाले, माओवादी र जनमत पार्टीका लागि पनि लोसपा र एसको साथ चाहिन्छ । हाल जसपा नेपालको सरकारमा नेकपा एस रहेको छ ।

कांग्रेसले साथ दिइरहेको छ । लोसपा अझै खुल्न बाँकी छ । तर एसले साथ नछाडे लोसपा पनि जोडिन सक्ने छ । एमाले, माओवादी र जनमत गठबन्धनमा अन्य दलहरु थपिएको छैन् । यद्यपि सो गठबन्धनले १ जना सभासद रहेको नागरिक उन्मुक्ति पार्टी र १ जना सभासद रहेको नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेको दावी गरेको छ ।

स्रोतहरुका अनुसार सोमवार मध्यान्ह नेकपा एस सचिवालयको बैठक बस्ने भएको छ । सचिवालय बैठक अगावै मधेश प्रदेशका नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसित छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । मधेश प्रदेशका केही नेताहरु काठमाण्डुमा आइपुगेका छन् । केही नेताहरु सोमवार बिहान आइपुग्ने बताइएको छ ।

एसका नेताहरुले संघीय सरकार छाड्नु परे पनि मधेश प्रदेशमा एमाले र जनमतलाई समर्थन नगर्न दबाब दिइरहेका छन् । यस सम्बन्धमा ती दलहरुको प्रतिक्रिया सार्वजनिक भएको छैन् । लोसपा र एसले धारणा सार्वजनिक गर्न बाँकी नै रहेकाले दुवै पक्ष बहुमत पु¥याउने दावी गरिरहेका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादव बाहेक अन्य सबै पार्टीका संसदीय दलका नेताहरु काठमाण्डुमा रहेका छन् । जसपा नेपालको तर्फबाट दलहरुबीच समन्वयमा अध्यक्ष उपेन्द्र यादव नै जुटेका छन् । पार्टीका प्रवक्ता समेत रहेका मनिष सुमनले नेकपा एसका अध्यक्ष नेपालसँग भेंटेर मधेश प्रदेश सरकारलाई समर्थन जारी राख्न आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News