अपडेट 
२०८१ जेष्ठ २१, सोमबार ०७:०८

तीन वटै सरकारको आयोजनामा जनकपुरधाममा दुई दिनसम्म चलेको श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि निवेदन दिएका छन् ।

संघीय सरकार, मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ शनिबार तीन हजार पाँच सय र आइतबार दुई हजार पाँच सय गरी छ हजार बेरोजगार युवाहरुले मेलाको अवलोकन गरेका छन् ।

दुई दिनसम्म चलेको श्रमाधान मेलामा रोजगारीको खोजीमा रहेका दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् । सो मेलामा रोजगारीको लागि होटलतर्फ १ सय ५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ ८० जना गरी जम्मा २४७ जना आवेदकहरुलाई अन्तर्वार्ताको लागि आमन्त्रण गरिएको छ ।

सो मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु ४ वटा रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११ वटा बैंक तथा वित्तीय संस्थाका २ तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुरधाम र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएको थियो ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका थिए । सो मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्ष बीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानलमा छलफल भएको थियो ।

सो प्यानलमा भएको छलफलमा करिब २ हजार जनाको उपस्थिति रहेको थियो । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुरधाम, कलैया, जीतपुरसीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए ।

जनकपुरधाममा आयोजना गरिएको श्रमाधान रोजगार मेला आइतबार सम्पन्न भएको छ । देशका सात वटै प्रदेशमा भइरहेको ’श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News