अपडेट 
२०८१ जेष्ठ २१, सोमबार १४:२०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेश गर्ने तयारी शुरु गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि कार्यान्वयनमा आएको महासन्धिलाई नेपालले भने सन् २०१० मा अनुमोदन गरेको थियो ।

अनुमोदन गरेको ६ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने नियमअनुसार तयारी गरिरहेका बेला संयुक्त राष्ट्र सङ्घले यससम्बन्धी निर्देशिका परिवर्तन गरेको थियो । निर्देशिका परिवर्तन गरेको ६ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थाबमोजिम यो वर्ष मन्त्रालयले प्रतिवेदन पेश गर्न लागेको मन्त्रालयको संस्कृति महाशाखा प्रमुख डा.सुरेशसुरस श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिवेदन तयारी गर्न मन्त्रालयले हिजोदेखि तीन दिने राष्ट्रिय परामर्श गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा अमूर्त सांस्कृतिक सम्पदाका क्षेत्रमा काम गर्ने सरकारी एवम् गैरसरकारी क्षेत्रका प्रतिनिधि र विज्ञ गरी ३५ जनाभन्दा धेरैको सहभागिता रहेको मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बास्कोटाले बताउनुभयो ।

प्रतिवेदन यही जुन १५ देखि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मा पेश गर्न प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News