अपडेट 
२०८१ जेष्ठ २३, बुधबार ०६:५५

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने निश्चित भएको छ । नेकपा एसले जनता समाजवादी पार्टी(जसपा)नेपालको मंगलवार साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।

सरकारबाट राजीनामा दिदै नेकपा एसका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएका छन् । सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार विश्वासको मत लिने छन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक डाकिएको छ । सत्ता गठबन्धनबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएको झण्डै २३ दिनपछि नेकपा एसले पनि समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा लगातार साढे ६ वर्ष जसपा नेपाल नेतृत्वको सरकार रहेको थियो ।

जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले ५ वर्षको पूर्ण कार्यकाल चलेको थियो । यद्यपि सत्ता साझेदार दलहरु फेरबदल भएका थिए । यादव नेतृत्वको सरकारले झण्डै १ वर्ष ६ महिना पूरा गरेको छ । डेढ वर्षको कार्यकालमा मुख्यमन्त्री यादवले पाँचौ पटक लिन लागेको विश्वासको मतमा सफल हुने सम्भावना समाप्त भएको छ ।

यस अघि उनले चौथो पटकसम्म विश्वासको मत लिन सफल रहे । तर पहिलो पटक विश्वासको मत लिँदा प्रदेश सभामा रहेका सबै सभासदहरुले उनलाई समर्थन गरेका थिए । प्रदेश सभाबाट उनी सर्वसम्मत मुख्यमन्त्री रहेको सन्देश प्रवाहित भएको थियो । तर चौथो पटक विश्वासको मत लिँदा उनको पक्षमा जम्मा ५९ मत परेको थियो ।

एमाले, माओवादी र नेकपा एसले उनलाई समर्थन गरेका थिए । नेकपा एसले सोमवार साँझ सम्म सरकारलाई समर्थन जारी राख्ने बताए पनि मंगलवार एसका अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भएको वार्तापछि समर्थन फिर्ता लिने निर्णय गरिएको थियो ।

एस संसदीय दलका नेता समेत रहेका निवर्तमान मन्त्री गोविन्द न्यौपानेले राजनीतिक परिस्थिति विपरीत बनेको अवस्थामा सरकारबाट अलग्गिएको बताए ।‘एमाले, माओवादी लगायतका गठबन्धन दलको निर्णय अनुसार अगाडि बढने छौ’ उनले भने, एमाले र माओवादीले गरेको निर्णयबारे जानकारी भएको छैन्, तर उनीहरुले भने अनुसार नै हाम्रो समर्थन रहने छ ।

एमाले र जनमत नेतृत्वको सरकारलाई स्वीकार गर्न नसकिने अडान राखेका न्यौपानेले संघीय गठबन्धनमा रहन मधेश प्रदेशमा अनिइच्छित निर्णय लिनु परेको बताए । ‘एमाले, माओवादी र जनमत पार्टीको कुनै बैठकमा हामीलाई सहभागी गराइएको छैन्’ उनले भने, उनीहरुले गरेको निर्णयमा अब हाम्रो पनि समर्थन छ । एमाले, माओवादी र जनमत पार्टीले यस अघि नै आफ्नो पक्षमा ६३ सभासद रहेको दावी गरेका थिए ।

एमाले, माओवादी र जनमत पार्टीले जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन् । नेकपा एसले साथ छाडेपछि जसपा नेपाललाई बहुमत पुग्ने सम्भावना समाप्त भएको छ । तर पनि मुख्यमन्त्री यादवले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्ने बताइएको छ ।

विश्वासको मत लिन प्रदेश सभाको बैठक डाकिएकोले सदनमा मत माग्ने मुख्यमन्त्री यादवले बताएका छन् । ‘सदनमा आफ्ना पक्ष राख्दै विश्वासको मत दिन सभासदहरुलाई आग्रह गर्नेछौ’ उनले भने, सदनमा बहुमत नपुगे सरकारबाट राजीनामा दिनेछु । मधेश प्रदेश सरकारका लागि नेकपा एस निर्णायक रहेको छ । प्रदेश सभामा एसको ७ जना सभासद छन् ।

एमालेको सभामुख बाहेक २४ जना सभासद, जनमत पार्टीको १३ जना सभासद, माओवादीको ९ जना सभासद रहेका छन् । नागरिक उन्मुक्ति पार्टी( नाउपा)को १ जना सभासद र नेपाल संघीय समाजवादी पार्टीको १ जना सभासदले पनि सो गठबन्धनलाई समर्थन गर्ने छन् । मधेश प्रदेश सभामा १ सय ७ जना सभासद रहेका छन् ।

सरकार बनाउन कम्तिमा ५४ जना सभासदको समर्थन चाहिन्छ । सत्ता आरोहनको क्रममा रहेको एमाले सहितको गठबन्धनमा ५५ जना सभासद रहने निश्चित भइसकेको छ । सरकार गठनको सबै तयारी पूरा भइसकेको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले बताए । ‘जसपा नेपालको सरकार अल्पमतमा परिसकेकाले सोझै राजीनामा दिनु उपयुक्त हुनेछ’ उनले भने, बहुमत सहित हामी सरकार गठन गर्ने तयारी अवस्थामा छौ ।

प्रदेश सभामा एमाले सबै भन्दा ठूलो दल रहेको छ ।सभामुख सहित एमालेको २५ सभासद छन् । दोस्रो दल नेपाली कांग्रेसको २२ जना सभासद रहेको छ ।

Comment


Related News

Latest News

Trending News