अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार ०७:५१

जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

वर्तमान अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिए उनको विरुद्धमा उम्मेदवारी पर्ने तयारी गरिएको छ । गैर सरकारी संस्थाको रुपमा स्थापित मधेशी जनअधिकार फोरमदेखि नै यादव हाल सम्म अध्यक्ष रहेका छन् । तर पार्टी पटक–पटक गरी १४ पटक विभाजन भइसकेको छ । कुशल संगठनकर्ता मानिएका यादव भने पार्टीमा फरक धारणा राख्नेलाई दमन गर्ने कारण नै पटक–पटक पार्टी फुटेको उनीमाथि आरोप लाग्दै आएको छ ।

स्रोतहरुका अनुसार जसपा नेपालको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षधरहरुको तर्फबाट राजकिशोर यादव उम्मेदवार हुने बलियो सम्भावना छ । कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने भएकाले प्रतिष्पर्धा हुनु अस्वभाविक नभएको बताएका छन् । ‘अध्यक्ष लगायत अन्य पदमा पनि प्रतिष्पर्धा हुन सक्छ’ उनले भने, ‘चुनावको सम्भावना छ । तर सर्वसम्मतले नै केन्द्रीय समिति चयनको प्रयास हुने उनले बताए । जसपाको नयाँ विधान अनुसार पार्टीमा अध्यक्षसहित १७ जना पदाधिकारी रहने छन् ।

जसपा नेपालको कार्यकारिणी समितिमा हाल ८ जना मात्र छन् । २२ जना मध्ये अधिकांश पार्टी छाडेका छन् । पछिल्लो पटक अशोक राईको नेतृत्वमा पार्टीका ७ जना सांसदसहित पार्टी विभाजन भएको थियो । त्यस विरुद्ध अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी जेठ २५ गते तोकिएको छ ।

महाधिवेशनमा १ हजार प्रतिनिधि रहने बताइएको छ । महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । ५ सय स्वयंसेवक र पर्यवेक्षक रहने महाधिवेशन तयारी समितिले जनाएको छ । १ हजार ५ जनाका लागि आवास र भोजनको प्रबन्ध मिलाइएको बताइएको छ । जेठ २७ गते महाधिवेशन उद्घाटन कार्यक्रम रहेको छ ।

३ दिन सम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हावाहुरीले भत्काएको छ । त्यसको पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । महाधिवेशनलाई सर्वोच्च अदालतबाट आउने फैसलाले पनि प्रभाव पार्ने देखिन्छ । विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय रद्द भए अलग्गिएकाहरु पनि जसपा नेपालमा नै समाहित हुनुपर्नेछ ।

महाधिवेशनका लागि प्रायःसर्वसम्मतले प्रतिनिधिहरु चयन गरिएका छन् । मधेश प्रदेशको जिल्लाहरुमा दैलो–दैलो पुगेर प्रचारप्रसार गरिदैछ ।

Comment


Related News

Latest News

Trending News